बिवाहअघि र बिवाहपछि दम्पतीको सम्बन्ध एकनास रहँदैन । प्रेम बिवाहमा त अझ धेरै अन्तर हुन्छ। बिवाहअघिसम्म उनीहरुले जति कसिलो र रसिलो क्षण व्यतित गर्छन्, बिवाहपछि त्यो स्वत घट्छ। पारिवारिक जिम्मेवारी, बालबच्चा, करियर आदिको कारणले पनि उनीहरुको सम्बन्ध केही फिका हुनपुग्छ।
बिवाहअघि धेरैले पारिवारिक जीवनको बारेमा सोचेका हुँदैनन्। पारिवारिक जिम्मेवारीलाई कसरी बहन गर्ने भन्ने योजना तय गरेका हुँदैनन् । जब त्यस्ता अभिभारा आइलाग्छ, उनीहरु हतास हुन्छन्। हच्किन्छन्। यसले दम्पतीको सम्बन्धमा केही न केही असर पार्छ।
हामीले देखेका छौं, जीवनभर नछुट्ने बाचा गरेर बाँधिएका जोडीहरु पनि अलग हुन पुग्छन्। उनीहरुबीच बिचार मिल्दैन, व्यवहार मिल्दैन । पारिवारिक जीवनको तालमेल मिल्दैन । फलत उनीहरु अलग्गिने निर्णयमा पुग्छन् । यसले ति दुई दम्पतीलाई मात्र असर पर्दैन, उनीहरुको बालबच्चा, परिवार, इष्टमित्र, समाज सबैलाई असर पर्छ।
खासमा बिवाहको आफ्नै विधी छ । संस्कार छ। मान्यता छ । बिधीपूर्वक बिवाह सम्पन्न गराउने क्रममा बिवाह के हो ? पति-पत्नीको सम्बन्ध कस्तो हुनुपर्छ ? कसरी सम्बन्ध टिकाउनुपर्छ ? के कस्ता दायित्व बहन गर्नुपर्छ भन्ने कुरा भनिएको हुन्छ । तर, दुलहा-दुलहीले यसलाई केवल कर्मकाण्डको रुपमा मात्र बुझ्छन्, गहिरो ढंगले आत्मासत गर्ने प्रयास गर्दैनन्। फलत बिवाहपछि पनि उनीहरुको सम्बन्ध खल्लो रहन्छ। विभिन्न उतारचढाव आउँछ । खटपट हुन्छ।
तर, उक्त विधीलाई भित्रैदेखि मनन गर्ने हो भने सफल दाम्पत्यका लागि त्यसले थप सघाउ पुर्याउँछ।
-सफल बिवाहको राज वास्तवमा एकअर्काको लागि धेरैभन्दा धेरै समय दिनु हो । पति-पत्नीले यदि एकअर्कासँग समय बिताउँछ भने, उनीहरुले आपसमा भावना बुझ्न सक्छन् । उनहिरुको सम्बन्ध बलियो हुन्छ ।
-बिवाहको अर्थ केवल शारीरिक सम्बन्ध स्थापित गर्न मात्र होइन, पति-पत्नीले आपसमा एकअर्काप्रति सौहार्दपूर्ण भाव राख्नु, एकअर्कालाई बुझ्नु र आपसी समस्याको सुल्याउनु जरुरी छ।
-फरक पृष्टभूमीमा हुर्किएर आएका दुई महिला र पुरुषबीच कतिपय कुरामा तालमेल नमिल्न सक्छ । मतभेद हुनसक्छ। सोंच र शैलीमा एकरुपता नहुन सक्छ । यो एकदमै आम समस्या हो र स्वभाविक पनि । तर, यस्तो कुरालाई मनन गरेर एकअर्काको कमजोरी स्विकार्नुपर्छ । अर्काको कुरालाई पनि सम्मान गर्नुपर्छ।
-एकअर्काको कामलाई महत्व दिनुपर्छ । त्यसको मर्मलाई बुझेर दुखसुख साझेदार गर्नुपर्छ ।
-केवल जिम्मेवारी निर्वाह गर्दैमा बिवाह सफल हुँदैन । एकअर्कासँग रमाइलो गर्नु, उत्साहित हुनु, रोमाञ्चक क्षणहरु विताउनुपर्छ । जस्तो कि, घुम्न जाने, डिनरमा लाने, फिल्म हेर्न जाने । यस्ता कुराले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ।
-सफल बिवाहको सबैभन्दा महत्वपूर्ण सर्त हो, आफ्ना पार्टनरलाई अरुसँग तुलना गरेर नहोच्याउने । अरुको अगाडि दुव्र्यवहार नगर्ने ।
-हरेक कुरामा आफ्नै मात्र भावना लाद्ने, आफुलाई केन्द्रमा राखेर निर्णयहरु गर्ने प्रवृत्तिले सम्बन्धमा फाटो ल्याउँछ ।
-शारीरिक सुखले सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर, यो जरुरी छैन कि हरक्षण यौन सुखकै बारेमा चिन्तन गरौं । कहिले काहिँ शारीरिक सुखभन्दा इमोशनल अट्यामेन्ट पनि जरुरी हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
