नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित पुतलीबजार नगरपालिकाले स्याङ्जा सदरमुकाम स्थित सहरी स्वास्थ्य केन्द्र सिटि हलमा प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा ल्याएको छ। नगर प्रमुख तुलसीराम रेग्मीले बुधबार बिहान प्रयोगशालाको समुद्घाटन गर्दै नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस सेवालाई प्रभावकारी, विश्वसनीय र सेवामैत्री बनाउन सम्बन्धित स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आग्रह गरे।
प्रयोगशालाबाट ४६ प्रकारका रक्त परीक्षण आफ्नै नगरमा उपलब्ध हुने भएपछि रोगको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा उपचारमा सहजता पुग्नुका साथै परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता, समय र खर्चसमेत कम हुने अपेक्षा गरिएको छ। कार्यक्रममा नगर उपप्रमुख देवी अर्यालले शुभकामना मन्तव्य राखेकी थिइन। प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, विभिन्न वडाका अध्यक्ष, सहरी स्वास्थ्य संस्थाका सञ्चालक तथा सदस्य, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र स्थानीयवासीन्दाको सहभागितामा सम्पन्न कार्यक्रमले पुतलीबजारको स्वास्थ्य सेवामा थप एउटा महत्वपूर्ण आयाम थपेको छ।
नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठले स्बागत, ल्याब असिस्टेन्ट सुजता बस्यालले प्रयोगशालाबाट उपलब्ध हुने सेवाबारे जानकारी तथा सन्चालन स्वास्थ्य अधिकृत ईश्वर बहादुर थापाले गरेका थिए। नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा विस्तार गर्ने नगरको प्रयासले ‘स्वस्थ नागरिक, स्वस्थ नगर’ निर्माणको अभियानलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
