स्याङ्जा । वरिष्ठ उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्यालको जन्मोत्सवको अवसर पारेर खुमा अर्याल फाउण्डेसनले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूसँग खुसी साट्दै परोपकारी कार्यक्रम सम्पन्न गरेको छ।
फाउण्डेसनको आयोजनामा बिहीबार गल्याङ नगरपालिका–१ स्थित रामनदी धाम वृद्धाश्रममा कार्यक्रम गरेको हो । कार्यक्रममा आश्रममा रहेका वृद्धबुबा–आमाहरूलाई आवश्यक जिन्सी सामग्री सहयोग गर्नुका साथै भोजन गराएर सम्मान गरिएको फाउण्डेसनले जनाएको छ।
बिहीबार बिहान ९ः३० बजेदेखि सुरु भएको कार्यक्रममा आश्रमका ज्येष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूको सुख, शान्ति र सुस्वास्थ्यको कामना गरिएको थियो। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउण्डेसनको भनाइ छ।
शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् व्यवस्थापन तथा रोजगारीलाई मुख्य सरोकारका क्षेत्र बनाउँदै आएको खुमा अर्याल फाउण्डेसनले विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको छ।
आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रममा रहेका आमाबुबासँग समय बिताउँदै सहयोग र सम्मान प्रदान गर्ने कार्यले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको स्थानीयको भनाइ छ। कार्यक्रममा खुमा अर्याल फाउण्डेसनका प्रतिनिधि, स्थानीय समाजसेवी तथा रामनदी धाम वृद्धाश्रम सञ्चालक समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
