गुणस्तरीय स्वास्थ्य सेवामा सदस्यहरूको पहुँच विस्तार गर्ने उद्देश्यसहित गण्डकी मेडिकल कलेज जिएमसी पोखरा र कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीरकोट १, हेलु बीच स्वास्थ्य सेवासम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ। सम्झौता अनुसार कालिका सहकारीका सदस्यहरूले गण्डकी मेडिकल कलेजबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्। सहकारीको आवश्यक सिफारिस सहित सेवा लिन पुगेका सदस्यलाई सम्झौतामा उल्लेख गरिएका सेवामा तोकिएबमोजिमको सहुलियत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
सम्झौता कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल तथा सीईओ डा. रविन्द्र प्रसाद श्रेष्ठ र कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भविश्वर कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताले सहकारीका सदस्यलाई उपचारका लागि सहज पहुँचसँगै गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ।आर्थिक तथा भौगोलिक कारणले स्वास्थ्य सेवामा पहुँच कठिन हुने अवस्थालाई केही हदसम्म सहज बनाउनसमेत यस्तो संस्थागत सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
दुवै संस्थाबीचको सहकार्यलाई केवल छुट र सहुलियतमा सीमित नराखी सदस्यको स्वास्थ्य सुरक्षा, सेवामा पहुँच र संस्थागत सामाजिक उत्तरदायित्वलाई जोड्ने सकारात्मक पहलका रूपमा हेरिएको छ। स्वास्थ्य सेवा अधिकार र आवश्यकता दुवै हो। त्यसमा सहकारीको साथ र स्वास्थ्य संस्थाको विशेषज्ञता जोडिँदा सदस्यका लागि उपचारको पहुँच अझ सहज बन्ने विश्वास गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
