डेंगी रोकथाममा जुट्न सरोकारवालाको जोड, समन्वयमा सधैँ तयार रहेको नगर प्रमुख रेग्मीको प्रतिबद्धता

डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ। जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाको आयोजनामा मंगलबार जिल्ला प्रशासन सभाहलमा सम्पन्न कार्यक्रममा डेंगीको जोखिम बढ्न नदिन समुदायस्तरबाटै सचेतना प्रभावकारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले डेंगी रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका सकारात्मक रहेको बताउँदैआवश्यक समन्वय सहकार्य गर्न आफू सधैँ तत्पर रहेको धारणा राखे।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले डेंगीको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच निरन्तरसमन्वय आवश्यक रहेको बताउँदै समयमै सचेतना, तयारी र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले स्थानीय तह तथा सरोकारवाला निकायले आफ्नो क्षेत्रबाट गर्न सकिने रोकथामका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

Advertisement

त्यस्तै, जिल्ला समन्वय समिति, स्वास्थ्य क्षेत्र तथा अन्य सरोकारवाला प्रतिनिधिहरूले डेंगीको स्रोत मानिने लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने स्थान पहिचान गरी नष्ट गर्ने, नियमित सरसफाइ गर्ने र नागरिकलाई सचेत बनाउने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। प्रहरी प्रशासनसहितका सुरक्षा निकायले पनि आवश्यक समन्वय सहजीकरणमा भूमिकानिर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

स्याङ्जा प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौर, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले डेंगी रोगको अवस्था, जोखिम, रोकथाम तथा नियन्त्रणका उपायबारे प्रस्तुतीकरण राखेका थिए। डेंगी नियन्त्रणकालागि पानी जम्न नदिने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, सरसफाइ कायम गर्ने तथा समुदायमा जनचेतना अभिवृद्धि गर्नेविषयमा विशेष जोड दिइएको थियो। डेंगी नियन्त्रण कुनै एक निकायको मात्र जिम्मेवारी नभई, सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको प्रभावकारी समन्वय नै यसको रोकथामको बलियो आधार बन्ने कार्यक्रममा जोड दिइएको छ।

More News last news
Loading...