– डा. दिपेन देवकोटा
प्राकृतिक, रोग रोकथाममा केन्द्रित तथा समग्र (होलिस्टिक) स्वास्थ्य सेवाप्रति विश्वभरका मानिसहरूको रुचि बढ्दै जाँदा आयुर्वेदले बिस्तारै विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ। मानिसहरू क्रमशः परम्परागत उपचार पद्धतितर्फ फर्किरहेका छन्। आज धेरैले जैविक (अर्गानिक) उत्पादन र न्यूनतम दुष्प्रभाव भएका आयुर्वेदिक उपचारलाई प्राथमिकता दिन थालेका छन्। आधुनिक औषधिको दुष्प्रभावबारे जनचेतना बढ्दै जाँदा मानिसहरू आफूले के खाने र कसरी उपचार गर्ने भन्ने विषयमा अझ सचेत भएका छन्। उनीहरू केवल राहत मात्र खोजिरहेका छैनन्, बरु स्वस्थ रहनका लागि सुरक्षित, प्राकृतिक र दिगो उपायहरू पनि खोजिरहेका छन्। यही परिवर्तनका कारण आयुर्वेद, जडीबुटीमा आधारित चिकित्सा तथा अन्य परम्परागत चिकित्सा प्रणालीहरूप्रति नयाँ चासो र विश्वास बढेको छ। त्यसैले आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीहरूको भविष्य निकै आशाजनक देखिन्छ। दीर्घकालीन रोग, मानसिक तनाव, मोटोपना तथा अस्वस्थ जीवनशैलीका कारण हुने रोगहरू बढिरहेका आजको समयमा धेरै मानिसहरू यस्ता स्वास्थ्य प्रणालीको खोजीमा छन्, जसले रोगका लक्षण मात्र होइन, शरीरमा भएको असन्तुलनको मूल कारणलाई पनि सम्बोधन गर्छ। आयुर्वेदले यही प्रकारको दृष्टिकोण अपनाउने भएकाले आजको परिवेशमा यसको सान्दर्भिकता अझ बढेको छ। आधुनिक चिकित्सा धेरै अवस्थामा अत्यावश्यक र जीवनरक्षक भए पनि दीर्घकालीन औषधि सेवन, औषधिको प्रतिकूल प्रतिक्रिया तथा जीवनशैलीसँग सम्बन्धित जटिलताका कारण धेरै मानिसहरू चिन्तित हुने गरेका छन्। त्यसैले उनीहरू अझ सुरक्षित र प्राकृतिक उपचारको विकल्प खोज्न थालेका छन्।
आयुर्वेदले रोगको रोकथाम, सन्तुलित आहार, नियमित दैनिकचर्या, व्यक्तिअनुसारको उपचार तथा रोगको मूल कारणको व्यवस्थापनमा विशेष जोड दिने भएकाले धेरै मानिसहरू यसप्रति आकर्षित भएका छन्। यसले केवल रोगका लक्षण दबाउने प्रयास गर्दैन, बरु शरीर र मनबीचको सन्तुलन पुनःस्थापित गर्ने लक्ष्य राख्छ। यही समग्र (होलिस्टिक) दृष्टिकोणले वर्तमान समयमा बढ्दो स्वस्थ जीवनशैलीप्रतिको विश्वव्यापी मागसँग आयुर्वेदलाई अझ उपयुक्त बनाएको छ। आयुर्वेदमा ‘त्रयोपस्तम्भ’ भन्नाले जीवनलाई धान्ने तीन आधारभूत स्तम्भहरूलाई जनाउँछ— आहार, निद्रा र ब्रह्मचर्य (संयमित जीवनशैली तथा जीवनशक्तिको उचित संरक्षण)। यीमध्ये आहार सबैभन्दा महत्वपूर्ण मानिन्छ। मानव स्वास्थ्य, दीर्घायु र जीवनको गुणस्तरमा प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण कारकमध्ये आहार एक हो। हामीले खाने भोजनले शरीरलाई आवश्यक पोषक तत्त्व र ऊर्जा प्रदान गर्दछ, जसले शारीरिक शक्ति, वृद्धि, कोषहरूको मर्मत, रोगप्रतिरोधात्मक क्षमता तथा दैनिक शारीरिक क्रियाकलापलाई सघाउँछ।

वर्तमान समयमा मोटोपना, मधुमेह, उच्च रक्तचाप, डिस्लिपिडेमिया तथा हृदय–रक्तनलीसम्बन्धी रोगजस्ता अस्वस्थ जीवनशैलीसँग सम्बन्धित रोगहरू तीव्र रूपमा बढिरहेका छन्। यसै सन्दर्भमा परम्परागत तथा पोषणयुक्त खाद्य पदार्थहरूप्रति पुनः चासो बढेको छ। यिनैमध्ये मिलेट्स (साना अन्न) दिगो पोषण र स्वस्थ जीवनशैलीको सशक्त प्रतीकका रूपमा स्थापित हुँदै गएका छन्। भोजन केवल क्यालोरीको स्रोत मात्र होइन; यो मानव स्वास्थ्य निर्धारण गर्ने सबैभन्दा शक्तिशाली माध्यमहरूमध्ये एक हो। आयुर्वेदले हजारौँ वर्षअघि नै ‘आहार’ लाई स्वस्थ र ऊर्जावान जीवनको आधार मानेको छ। आधुनिक पोषण विज्ञानले पनि यस सिद्धान्तलाई क्रमशः समर्थन गर्दै आएको छ। आज वैज्ञानिक अनुसन्धानले आहारको ढाँचाले शरीरको चयापचय (Metabolism), सूजन (Inflammation), आन्द्राभित्रका सूक्ष्मजीवहरूको सन्तुलन (Gut Microbiota) तथा दीर्घकालीन रोगहरूको जोखिममा गहिरो प्रभाव पार्ने कुरा पुष्टि गरेको छ। आचार्य चरकले उल्लेख गर्नुभएको छ कि यदि व्यक्तिले आफ्नो खानपानको उचित हेरचाह गर्छ भने औषधिको आवश्यकता पर्दैन। आयुर्वेदमा वर्णित आदर्श खाद्य पदार्थहरूमध्ये क्षुद्रधान्य (कुधान्य) पनि एक हो। यी साना अन्नहरू अत्यन्तै पोषक हुन्छन् र विशेषगरी सन्तर्पणजन्य रोगहरू (अत्यधिक पोषण वा अतिभोजनका कारण हुने रोगहरू) को रोकथाम तथा व्यवस्थापनमा प्रभावकारी मानिन्छन्।
संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय मिलेट वर्ष’ घोषणा गर्नु परम्परागत साना अन्नहरूको विश्वव्यापी महत्त्वको औपचारिक स्वीकारोक्ति थियो। पोषणयुक्त, जलवायु–अनुकूल तथा खाद्य सुरक्षा र दिगो कृषिमा योगदान पुर्याउन सक्ने खाद्यान्नका रूपमा मिलेट्सलाई विश्वभर मान्यता दिइयो। नेपाल र भारत विश्वका प्रमुख मिलेट उत्पादक देशहरूमध्ये पर्दछन्। विशेषगरी सन् २०२३ मा भारतले जी–२० शिखर सम्मेलन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेटबाट बनेका परिकार प्रस्तुत गर्दै स्वस्थ र दिगो भोजनको उत्कृष्ट उदाहरणका रूपमा विश्वसामु परिचित गरायो। यस लेखमा आयुर्वेदको आहारसम्बन्धी दर्शन, मिलेट्सको वैज्ञानिक महत्त्व, परम्परागत साना अन्नको उपभोगलाई प्रवर्द्धन गर्न डा. खदर वल्लीले पुर्याउनुभएको योगदान तथा जी–२० शिखर सम्मेलनमा प्रस्तुत गरिएका मिलेट-आधारित परिकारहरूको महत्त्वबारे चर्चा गरिएको छ।
‘भोजन नै पहिलो औषधि हो’
आयुर्वेदका महान आचार्य चरकले भन्नुभएको छ—
“आहार सम्भवं वस्तु, रोगाश्च आहार सम्भवाः।”
अर्थात्, शरीरका सबै तत्त्व भोजनबाट उत्पन्न हुन्छन् र भोजन अशुद्ध, अस्वच्छ वा अनुपयुक्त भए धेरै रोगहरूको उत्पत्ति पनि त्यहीँबाट हुन्छ। हजारौँ वर्षअघि व्यक्त गरिएको यो गहन सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छ। यद्यपि आधुनिक चिकित्सापद्धतिमा आहार र शारीरिक गतिविधिलाई पहिलेजति प्राथमिकता दिइँदैन थियो, पछिल्ला वर्षहरूमा आधुनिक चिकित्सा विज्ञानले पनि अस्वस्थ खानपानलाई मोटोपना, मधुमेह, उच्च रक्तचाप, हृदयरोग, फ्याटी लिभर तथा विभिन्न प्रकारका क्यान्सरको प्रमुख कारणका रूपमा स्वीकार गरेको छ। त्यसैले स्वस्थ जीवनको सुरुआत अस्पतालबाट होइन, आफ्नै घरको भान्साघरबाट हुन्छ। वास्तवमा, भान्साघर हाम्रो सानो औषधालय र अस्पताल हो। स्वस्थ जीवनशैली चिकित्साका छ आधार स्तम्भहरू छन् ।
• स्वस्थ तथा सन्तुलित पोषण
• नियमित शारीरिक व्यायाम
• गुणस्तरीय र पर्याप्त निद्रा
• तनाव व्यवस्थापन
• हानिकारक पदार्थहरूको सेवनबाट टाढा रहनु
• सकारात्मक सामाजिक सम्बन्ध
यी सबैमध्ये पोषण सबैभन्दा महत्वपूर्ण आधार हो, किनभने मानव शरीरका प्रत्येक कोषले भोजनबाट प्राप्त पोषक तत्त्वमा निर्भर रहन्छ।
आयुर्वेदका अनुसार भोजनले निम्न पक्षहरूमा प्रत्यक्ष प्रभाव पार्छ अग्नि (पाचन शक्ति), धातु पोषण (शारीरिक तन्तुहरूको पोषण), ओज (रोगप्रतिरोधात्मक क्षमता), सत्त्व (मानसिक स्वास्थ्य), आयुष्य (दीर्घायु)
यसैले भोजन केवल क्यालोरी वा इन्धन मात्र होइन; यसले शरीरको सम्पूर्ण जैविक क्रियाप्रणालीलाई निर्देशित गर्ने महत्त्वपूर्ण जानकारी (Information) पनि प्रदान गर्छ। सरल शब्दमा भन्नुपर्दा, हामी जे खान्छौँ, अन्ततः त्यही बन्छौँ। मिलेट्स (साना अन्न) मानव सभ्यताले खेती गर्न थालेका सबैभन्दा प्राचीन अन्नबालीहरूमध्ये पर्दछन्। पुरातात्त्विक प्रमाणहरूका अनुसार एशिया र अफ्रिकामा हजारौँ वर्षदेखि यी अन्नहरूको खेती हुँदै आएको छ। अत्यधिक गर्मी, न्यून वर्षा तथा खडेरीजस्ता कठिन जलवायुमा पनि मिलेट सजिलै उत्पादन गर्न सकिन्छ, जसले यसलाई जलवायु परिवर्तनको चुनौती सामना गर्न सक्षम बाली बनाएको छ। नेपालमा कुनै समय मिलेट मुख्यतः निम्न आय भएका परिवारहरूको प्रमुख खाद्यान्नका रूपमा चिनिन्थ्यो। ढिँडो, कोदोको रोटी तथा यस्ता परिकारहरू गरिब परिवारको भोजन मानिन्थे। तर आज परिस्थिति पूर्ण रूपमा बदलिएको छ। अहिले मिलेटलाई स्वास्थ्यवर्धक तथा विलासी ‘सुपरफुड’ का रूपमा हेरिन थालिएको छ। काठमाडौंका पाँचतारे होटलदेखि थकाली रेस्टुरेन्टसम्मका मेनुमा ढिँडो, कोदोको रोटी तथा अन्य मिलेट-आधारित परिकारहरू विशेष स्थान पाउन थालेका छन्। विदेशी पर्यटकहरूमा पनि यस्ता परिकारहरूको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय पर्यटकहरू स्थानीय भोजन, संस्कृति र परम्पराप्रति आकर्षित हुने भएकाले कोदो, फापर, कागुनो, चिनो, सामा लगायतका स्वदेशी साना अन्नहरूको माग निरन्तर बढ्दै गएको छ।
नेपाल र भारतमा विभिन्न प्रकारका साना अन्न (मिलेट्स) उत्पादन गरिन्छ। प्रमुख प्रजातिहरूमा कोदो (Finger Millet/Ragi), कागुनो (Foxtail Millet), सामा (Little Millet), चिनो (Proso Millet), जुनेलो (Barnyard Millet), बाजरा (Pearl Millet), ज्वार (Sorghum/Jowar) लगायत अन्य साना अन्नहरू पर्दछन्।

मिलेट्सको पोषणीय महत्त्व
मिलेट्सको लोकप्रियता दिनप्रतिदिन बढ्नुको प्रमुख कारण यसको उच्च पोषण मूल्य हो। यसमा प्रशस्त मात्रामा प्रोटिन, आहारजन्य रेशा (फाइबर), भिटामिन, फलाम, क्याल्सियम, म्याग्नेसियम लगायतका आवश्यक पोषक तत्त्व पाइन्छन्। परिष्कृत (Refined) चामल वा गहुँको तुलनामा मिलेट्समा प्राकृतिक रूपमा रहेका रेशा, भिटामिन, खनिज तथा जैवसक्रिय तत्त्व (Phytochemicals) सुरक्षित रहन्छन्। वैज्ञानिक अध्ययनहरूले मिलेट्सका अनेकौं स्वास्थ्य लाभहरू पुष्टि गरेका छन्। यसको उच्च फाइबरका कारण निम्न लाभ प्राप्त हुन्छन्—
• पाचन प्रणालीमा सुधार तथा आन्द्राभित्रका उपयोगी सूक्ष्मजीवहरूको सन्तुलन (Gut Microbiota) कायम गर्न सहयोग
• लामो समयसम्म पेट भरिएको अनुभूति (Satiety)
• तौल नियन्त्रणमा सहयोग
• कब्जियतको समस्या कम गर्न मद्दत
• रगतमा चिनीको मात्रा बिस्तारै बढाउने (Low Glycemic Index)
कम ग्लाइसेमिक सूचकाङ्क (Low Glycemic Index)
धेरै प्रकारका मिलेट्सले परिष्कृत चामल वा गहुँबाट बनेका परिकारको तुलनामा रगतमा ग्लुकोजको मात्रा बिस्तारै बढाउँछन्। त्यसैले मधुमेह वा इन्सुलिन प्रतिरोध (Insulin Resistance) भएका व्यक्तिहरूका लागि सन्तुलित आहारको रूपमा यी उपयोगी हुन सक्छन्।
खनिज तत्त्वहरूको उत्कृष्ट स्रोत
मिलेट्समा शरीरलाई आवश्यक पर्ने धेरै महत्त्वपूर्ण खनिज तत्त्व पाइन्छन्, जस्तै— क्याल्सियम, फलाम, म्याग्नेसियम, जिंक, फस्फोरस, पोटासियम आदि । उदाहरणका लागि, कोदो (रागी) क्याल्सियमको अत्यन्तै राम्रो स्रोत मानिन्छ।
प्राकृतिक एन्टिअक्सिडेन्ट
मिलेट्समा पोलिफेनोल तथा अन्य एन्टिअक्सिडेन्ट यौगिकहरू प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरका कोषहरूलाई अक्सिडेटिभ तनाव (Oxidative Stress) बाट जोगाउन सहयोग पुर्याउँछन्।
ग्लुटेनरहित (Gluten-Free)
अधिकांश मिलेट्स प्राकृतिक रूपमा ग्लुटेनरहित हुन्छन्। त्यसैले ग्लुटेनसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूका लागि यी उपयुक्त खाद्यान्न हुन्, यद्यपि प्रशोधनका क्रममा अन्य अन्नसँग मिसिन नदिन विशेष सावधानी अपनाउनुपर्छ।
दिगो खाद्यान्न (Highly Sustainable)
मिलेट्स लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिने अन्न हुन्। केही प्रजातिहरू उचित भण्डारणमा १०–१२ वर्षसम्म पनि खान योग्य रहन सक्छन्, जसले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँछ।
आयुर्वेद र मिलेट्स
आयुर्वेदले प्रत्येक अन्नलाई यसको गुण (गुण), रस, वीर्य र विपाकका आधारमा वर्गीकरण गरेको छ। उचित रूपमा छनोट गरिएको मिलेटले पाचन शक्ति सुधार्न, शरीरको चयापचय सन्तुलित राख्न, स्वस्थ तौल कायम गर्न तथा मलत्याग नियमित बनाउन सहयोग गर्न सक्छ। तर आयुर्वेदले सबैका लागि एउटै आहार उपयुक्त हुन्छ भन्ने मान्यता राख्दैन। व्यक्तिको प्रकृति, पाचन शक्ति तथा स्वास्थ्य अवस्थाअनुसार अन्नको छनोट र पकाउने विधि फरक हुन सक्छ।
अन्तर्राष्ट्रिय मिलेट वर्ष–२०२३
मिलेट्सको पोषणीय, वातावरणीय तथा कृषि महत्त्वलाई दृष्टिगत गर्दै भारतको प्रस्ताव तथा विभिन्न राष्ट्रहरूको समर्थनमा संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय मिलेट वर्ष’ घोषणा गरेको थियो।
यस पहलको उद्देश्य निम्नानुसार थियो—
• पोषण सुरक्षाको प्रवर्द्धन
• साना किसानहरूको सशक्तीकरण
• जलवायु–अनुकूल कृषि प्रणालीलाई प्रोत्साहन
• विश्वव्यापी रूपमा मिलेट्सको उपभोग बढाउने
• परम्परागत खाद्य प्रणालीको पुनर्जीवन
यस अन्तर्राष्ट्रिय मान्यतापछि कुनै समय ‘मोटो अन्न’ (Coarse Grains) भनेर चिनिने मिलेट्स आज ‘पोषणयुक्त अन्न’ (Nutri-cereals) का रूपमा विश्वभर सम्मानित भएका छन्। भारतका खाद्य वैज्ञानिक तथा पोषणविद् डा. खदर वल्ली, जसलाई ‘मिलेट म्यान अफ इन्डिया’ भनेर पनि चिनिन्छ, ‘सिरिधान्य’ (सकारात्मक मिलेट्स) को अवधारणालाई व्यापक रूपमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ। उहाँले व्याख्यान, जनचेतना कार्यक्रम तथा विभिन्न अभियानमार्फत परम्परागत साना अन्नको उपभोगलाई पुनः प्रवर्द्धन गर्न योगदान पुर्याउनुभएको हो। यहाँ एउटा कुरा स्पष्ट गर्न आवश्यक छ कि डा. खदर वल्लीले मिलेट्सको आविष्कार गर्नुभएको होइन। मिलेट्स हजारौँ वर्षदेखि खेती हुँदै आएका अन्न हुन्। उहाँको मुख्य योगदान भनेको यी परम्परागत अन्नहरूलाई पुनः जनमानसमा लोकप्रिय बनाउनु, न्यून प्रशोधित (Minimally Processed) खाद्यान्नको प्रयोगलाई प्रोत्साहन गर्नु तथा आहारमा विविधता ल्याउने सन्देश फैलाउनु हो। डा. खदर वल्लीले अन्नलाई सकारात्मक (Positive), तटस्थ (Neutral) र नकारात्मक (Negative) गरी वर्गीकरण गर्ने अवधारणा प्रस्तुत गर्नुभएको हो।

सकारात्मक मिलेट्स (Siridhanya)
यी अन्नहरूमा आहारजन्य रेशा (फाइबर) धेरै हुने तथा स्वास्थ्य प्रवर्द्धन गर्ने गुण भएकाले विशेषगरी मधुमेहजस्ता दीर्घकालीन रोगहरूको व्यवस्थापनमा उपयोगी मानिन्छन्। कागुनो (Foxtail Millet), जुनेलो (Barnyard Millet),सामा (Little Millet), कोदो कुट्की/कोदो मिलेट (Kodo Millet), ब्राउनटप मिलेट (Browntop Millet), आदि।
तटस्थ मिलेट्स (Neutral Millets)
यी अन्नहरूले सन्तुलित पोषण र ऊर्जा प्रदान गर्छन्, तर डा. खदर वल्लीको वर्गीकरणअनुसार सकारात्मक मिलेट्सजस्ता विशेष उपचारात्मक गुणहरू भने कम हुन्छन्। बाजरा (Pearl Millet), कोदो/रागी (Finger Millet), ज्वार (Sorghum), केही सन्दर्भमा मकै (Maize/Corn) आदि।
नकारात्मक अन्न (Negative Grains)
जस्ता आधुनिक मुख्य खाद्यान्नहरू पर्दछन्। यिनमा आहारजन्य रेशा अत्यन्त कम हुने भएकाले लामो समयसम्म अत्यधिक सेवन गर्दा अस्वस्थ जीवनशैलीसँग सम्बन्धित रोगहरूको जोखिम बढ्न सक्छ। यस समूहमा मुख्यतः पालिस गरिएको चामल, परिष्कृत गहुँ पर्छन् ।
सकारात्मक, तटस्थ र नकारात्मक अन्नबीचको तुलना
प्रकार फाइबरको मात्रा स्वास्थ्यमा प्रभाव उदाहरण
सकारात्मक मिलेट्स ८–१२.५% उच्च फाइबरयुक्त, पाचन, मुटु, हड्डी तथा समग्र स्वास्थ्यका लागि अत्यन्त लाभदायक कागुनो, जुनेलो, सामा, ब्राउनटप, कोदो मिलेट
तटस्थ मिलेट्स ३–६% सन्तुलित पोषण र ऊर्जा प्रदान गर्ने कोदो (रागी), बाजरा, चिनो (Proso), ज्वार नकारात्मक अन्न २% भन्दा कम फाइबर कम हुने, तुलनात्मक रूपमा कम लाभदायक तथा पचाउन कठिन पालिस गरिएको चामल, परिष्कृत गहुँ
जी–२० शिखर सम्मेलन र मिलेट्सको विश्वव्यापी प्रवर्द्धन
सन् २०२३ मा नयाँ दिल्लीमा आयोजित जी–२० नेताहरूको शिखर सम्मेलन भारतले पोषण, दिगोपन र सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा मिलेट्सलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको थियो। नयाँ दिल्लीस्थित भारत मण्डपम् मा भारतका राष्ट्रपतिद्वारा आयोजित राजकीय रात्रिभोजमा भारतका विभिन्न क्षेत्रका परम्परागत परिकार तथा १०० प्रतिशत शाकाहारी, मिलेट-आधारित विशेष मेनु समावेश गरिएको थियो। यसले प्राचीन साना अन्नलाई विश्वमञ्चमा प्रवर्द्धन गर्ने भारतको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको थियो।
प्रमुख परिकार
स्टार्टर:- पात्रम् (Paatram) – कागुनो (Foxtail Millet) बाट बनाइएको कुरकुरे पातमा दहीको गोलो (Yogurt Sphere) तथा मसलेदार चटनी सजाएर तयार गरिएको परिकार।
मुख्य परिकार
• वनवर्णम् (Vanavarnam) – कटहर (Jackfruit) बाट तयार गरिएको गालेट, वनमा पाइने च्याउ (Forest Mushrooms), सामा (Little Millet) को कुरकुरे तथा केरालाको रातो चामलसँग करीपात मिसाएर बनाइएको विशेष परिकार।
• बाकरखानी (Bakarkhani) – अलैंचीको स्वादयुक्त मीठो रोटी।
मिठाई
मधुरिमा (Madhurima) – जुनेलो (Barnyard Millet) बाट बनाइएको अलैंचीको सुवासयुक्त खीर, अञ्जिर–आरुको कम्पोट (Fig–Peach Compote) तथा अम्बेमोहर चामलको कुरकुरेसहित।
पेय पदार्थ
• काश्मिरी कहवा – हरियो चियापत्ती, दालचिनी, अलैंची, केसर तथा पिसिएको बदाम मिसाएर बनाइने काश्मीरको प्रसिद्ध सुगन्धित पेय।
• दार्जिलिङ चिया
• दक्षिण भारतीय फिल्टर कफी – परम्परागत ८०:२० कफी–चिकोरी मिश्रणबाट तयार गरिएको डेकोक्सनमा तातो फिँजिएको दूध र चिनी मिसाएर बनाइएको विशेष कफी।
• पानको स्वादयुक्त चकलेट पात (भोजनपछि परोसिएको)।
यो सम्पूर्ण मेनु भारतको समृद्ध पाक–संस्कृति प्रदर्शन गर्नुका साथै ‘अन्तर्राष्ट्रिय मिलेट वर्ष–२०२३’ को मूल भावनाअनुसार मिलेट्सको महत्त्वलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको थियो।
दिगो जीवनशैलीका लागि मिलेट्स किन आवश्यक छन्?
मिलेट् केवल पोषणयुक्त अन्न मात्र होइनन्; वातावरणीय दृष्टिले पनि अत्यन्तै दिगो र जलवायु–अनुकूल बाली हुन्। परम्परागत अन्नबालीहरूको तुलनामा मिलेट्सका प्रमुख विशेषताहरू निम्न छन्—
• कम पानीमा पनि राम्रो उत्पादन हुने।
• खडेरी सहन सक्ने क्षमता।
• कम उर्वर वा सीमित उत्पादन क्षमता भएका जमिनमा पनि खेती गर्न सकिने।
• मल तथा विषादीजस्ता कृषि सामग्रीको आवश्यकता कम पर्ने।
• जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउने।
• जलवायु परिवर्तनअनुकूल कृषि प्रणालीलाई सुदृढ बनाउने।
विश्वव्यापी रूपमा जलवायु परिवर्तनले खाद्य उत्पादनमा चुनौती सिर्जना गरिरहेका बेला मिलेट्स दिगो कृषिको प्रभावकारी समाधानका रूपमा देखिएका छन्।
दैनिक आहारमा मिलेट्सको प्रयोग
स्वस्थ आहार अपनाउन धेरै जटिलता आवश्यक पर्दैन। मिलेट्सलाई दैनिक भोजनमा सजिलै समावेश गर्न सकिन्छ, जस्तै— रोटी, डोसा, इडली, खिचडी, उपमा, सलाद, मिलेट सुप, मिठाई, बिस्कुट, कुकिज, मोमो आदि। परिष्कृत चामल वा गहुँको केही भागलाई क्रमशः सम्पूर्ण मिलेट्सले प्रतिस्थापन गर्दा आहारमा विविधता आउँछ र आहारजन्य रेशा (फाइबर) को मात्रा पनि बढ्छ।

आज नेपाल र भारतका धेरै मानिसहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप लगायतका नसर्ने रोगहरूबाट प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा आफ्ना खानपानका बानीमा गम्भीर ध्यान दिन आवश्यक भइसकेको छ। हालैका वैज्ञानिक अनुसन्धानहरूले पनि मिलेट्सका स्वास्थ्य लाभहरू पुष्टि गरिरहेका छन्। त्यसैले मधुमेह, उच्च रक्तचाप, क्यान्सर तथा अन्य चयापचयसम्बन्धी रोगहरूको जोखिम कम गर्न स्वस्थ आहारतर्फ परिवर्तन गर्ने उपयुक्त समय यही हो। आयुर्वेदका अधिकांश आचार्यहरूले क्षुद्रधान्य (साना अन्न) का सामान्य गुणहरू यसरी वर्णन गरेका छन्— लघु (सजिलै पच्ने), रूक्ष, उष्ण गुणयुक्त, कषाय–मधुर रसयुक्त, शीत वीर्ययुक्त आदि ।
यस्ता अन्नले विशेषगरी कफ र वात दोषको शमन गर्न सहयोग पुर्याउने उल्लेख गरिएको छ। यी गुणहरू विशेष रूपमा सकारात्मक मिलेट्स (Positive Millets) सँग सम्बन्धित मानिन्छन्। त्यसैले कफ तथा वात दोषको असन्तुलन भएका अवस्थाहरूमा यिनको उचित प्रयोग लाभदायक हुन सक्छ। मिलेट्स खेती गर्न पनि तुलनात्मक रूपमा सजिलो हुन्छ। यी प्रकाश-असंवेदनशील (Photo-insensitive) भएकाले उष्णकटिबन्धीय, उपोष्णकटिबन्धीय तथा समशीतोष्ण सबै क्षेत्रमा खेती गर्न सकिन्छ। सुख्खा तथा कम उर्वर जमिनमा समेत राम्रो उत्पादन हुने भएकाले किसानले कम लगानीमै यसको खेती गर्न सक्छन्। पोषणीय दृष्टिले पनि मिलेट्स परम्परागत चामल र गहुँभन्दा धेरै अवस्थामा उत्कृष्ट मानिन्छन्। चामल र गहुँमा मुख्यतः कार्बोहाइड्रेटको मात्रा बढी हुने भए पनि मिलेट्समा प्रोटिन, फाइबर, भिटामिन तथा खनिज तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन्। विशेषगरी यी क्याल्सियम, फलाम, म्याग्नेसियम तथा आहारजन्य रेशा का उत्कृष्ट स्रोत हुन्। यिनको नियमित प्रयोगले विशेषतः महिला तथा बालबालिकामा देखिने पोषणसम्बन्धी समस्या तथा विभिन्न चयापचयजन्य रोगहरूको रोकथाममा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
निष्कर्ष
स्वस्थ जीवनको आधार स्वस्थ आहार हो। हजारौँ वर्षअघि नै आयुर्वेदले भोजनलाई स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमता र दीर्घायुको मुख्य आधार मानेको थियो। आधुनिक पोषण विज्ञानले पनि आज यही सिद्धान्तलाई बलियो रूपमा समर्थन गरिरहेको छ। अन्तर्राष्ट्रिय मिलेट वर्ष–२०२३ ले यी प्राचीन तथा परम्परागत साना अन्नहरूलाई पोषणयुक्त, वातावरणमैत्री र जलवायु–अनुकूल खाद्यान्नका रूपमा विश्वव्यापी मान्यता दिलाएको छ। किसान, अनुसन्धानकर्ता, नीति निर्माता तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको संयुक्त प्रयासले आज मिलेट्सले खाद्य सुरक्षा र सार्वजनिक स्वास्थ्यसम्बन्धी विश्वव्यापी बहसमा पुनः सम्मानजनक स्थान प्राप्त गरेका छन्।
जी–२० शिखर सम्मेलनमा प्रस्तुत गरिएको मिलेट-आधारित भोजन केवल पाककलाको उत्कृष्ट नमुना मात्र थिएन; यसले परम्परागत ज्ञान, आधुनिक पोषण विज्ञान र दिगो कृषिको समन्वयमार्फत स्वस्थ भविष्य निर्माण गर्ने साझा दृष्टिकोणलाई पनि प्रतिनिधित्व गरेको थियो। नेपालको भौगोलिक बनावट मिलेट्स खेतीका लागि अत्यन्तै अनुकूल छ। त्यसैले खाद्य सुरक्षा सुदृढ बनाउन, किसानको आय वृद्धि गर्न तथा जनस्वास्थ्य सुधार गर्न मिलेट्सको उत्पादन र उपभोगलाई अझ व्यापक रूपमा प्रवर्द्धन गर्नु आजको आवश्यकता हो। दीर्घकालीन रोगहरूको बढ्दो भार र जलवायु परिवर्तनजस्ता चुनौतीहरूको सामना गरिरहेका वर्तमान समाजका लागि सम्पूर्ण अन्न, न्यून प्रशोधित खाद्य पदार्थ तथा मिलेट्सलाई दैनिक आहारमा समावेश गर्नु मानव स्वास्थ्य र पृथ्वीको दिगो भविष्य दुवैका लागि लाभदायक कदम हुनेछ।
(देवकोटा सानेपा हाईट ललितपुरमा रहेको शुद्धिग्राम नेपालमा आयुर्वेद चिकित्सक हुन् ।)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
