काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्नजिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २ सय २१, नवलपरासीपूर्वमा १ सय ३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४ सय ७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५ सय ७२, नुवाकोटबाट ८ सय ९८ र धादिङबाट तीन जना रहेका उनले जानकारी दिए ।
बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन् । बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।
बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३ सय ८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
