काठमाडौं । शिक्षक आन्दोलन जारी रहेको २० दिनपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।उहाँले पदभार ग्रहण गरेको झन्डै १० महिनापछि राजीनामा दिनुभएको हो । उहाँ गत वर्ष असार ३१ गते नियुक्त हुनुभएको थियो । सोमबार दिउँसो प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्न पुगेकी मन्त्री भट्टराईले राजीनामा दिनुभएको हो । उहाँले किन राजीनामा दिनुभएको हो खुल्न सकेको छैन ।
यद्यपि, शिक्षक आन्दोलन र महासंघले राखेको मागका बारेमा प्रम र भट्टराईबीच मत मिल्न नसकेपछि राजीनामा दिनुभएको अनुमान छ । मन्त्रालयको कमजोर संयन्त्रका कारण मन्त्रालयले महासंघसँग वार्ताको निचोड निकाल्न नसकेको हो ।
उच्चस्रोतका अनुसार यसअघि पनि राजीनामा दिने तयारीमा रहनुभएको मन्त्री भट्टराईले शिक्षक आन्दोलनको विषयमा मत मिल्न नसकेपछि राजीनामा दिनुभएको हो । प्रधानमन्त्री ओलीले शिक्षकको आन्दोलनको विषयमा शुक्रवार मध्यरातसम्म महासंघसँग वार्ता गर्दा मन्त्री भट्टराईलाई बोलाउनुभएको थिएन ।
पेसागत महासंघले शिक्षक आन्दोलनको विषयमा आइतबार ध्यानाकर्षणपत्र बुझाउँदा मन्त्री भट्टराईलाई जानकारी दिइएन । यसरी आफ्नो मन्त्रालयको विषयमा सरोकारवालासँग छलफल गर्दा र बैठक बस्दा नबोलाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । ‘सोही असन्तुष्टिको आधारमा मन्त्रीज्यूले राजीनामा दिनुभएको अनुमान छ’ –मन्त्रालय स्रोतले भन्यो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
