कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो।

Advertisement

कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित उहाँको निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

More News last news
Loading...