काठमाण्डाै । नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उहाँलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो ।
चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ । नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष हुनुभयो ।
उहाँ सभामुख पनि बनिसक्नुभएको छ । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङले केही समय कानुन व्यवसायमा समेत समय बिताउनुभयो ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित हुनुभएको थियो ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो ।
एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो ।
विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहनुभयो । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभयो । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री हुनुभयो । २०५७ सालमा उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापति हुनुभयो ।
२०६३ सालको अन्तरिम संसदमा उहाँ सभामुख चयन हुनुभयो । २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुभयो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उहाँ अध्यक्ष बन्नुभयो । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने
एमाले उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ । नेम्वाङका छोरा विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ ।
बालुवाटारमा रहेको आफ्नै निवासमा गएराति उहाँलाई हृदयघात भएको थियो । उहाँलाई राति नै महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।
नेम्वाङ गएको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । २००९ साल फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
