नेपालगञ्ज । विजयादशमीको दिनमा सबैले आ-आफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला संक्रमित भएर भेरी अस्पतालमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् । सोमवार दसैंको दिनमा पनि संक्रमितको सेवामा खटिनुभएका भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई टीका लगाएर शुभकामना दिंदै दसैं मनाएको अस्पतालले जनाएको छ।
भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले संक्रमितको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरुले सबै संक्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।
संक्रमित भएर त्यहाँ उपचार गराइरहनुभएका भेरी अस्पतालका बायोमेडिकल टेक्निसियन नविन चन्द ठकुरीले संक्रमितको उपचार सेवामा दिनरात खटिनुभएका कोभिड इन्चार्ज सम्झना मण्डल, स्टाफ नर्सहरु यम कुमारी थापा, कमला नेपाली र देवा जिसीले सबै संक्रमितलाई टिका लगाउनुभएको बताउनुभयो ।
उहाँले स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि आफन्त र घर परिवार नहुँदा निराश भएकाहरुलाई धेरै राहात मिलेको बताउनुभयो।
आफ्नो ज्यानको परवाह नगरि दिनरात संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि धेरै खुशी लागेको एक संक्रमितले बताउनुभयो । उहाँले एक्कासि टीका लगाउन स्वास्थ्यकर्मीहरु आएपछि दुखी भएर बसेका सबै संक्रमितको अनुहारमा उज्यालो र मुस्कान देखिएको बताउनुभयो ।
अस्पतालका बायोमेडिकल टेक्निसियन ठकुरीका अनुसार हाल भेरी विशेष कोराना अस्पतालमा ८ जना स्टाफसहित ४५ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
उपचाररत संक्रमितको मनोबल उच्च पार्नका लागि आफूहरुले उपचार सेवा लगायत सबै प्रकारका गतिविधि पनि निरन्तर गरिरहेको कोभिड इन्चार्ज सम्झना मण्डलले बताउनुभयो ।
उहाँले उच्च मनोबल राखेर कोरोनासँग लड्ने हो भने जित्न सजिलो रहेको जनाउँदै सबैलाई मनोबल उच्च राख्न आग्रह गर्नुभएको छ ।
बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९९० पुगेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । अझै पनि ३३८ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत भर्ना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
