काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । मंगलबार अबेर रातिसम्म चलेको वार्ता सहमति नजिक पुगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए ।
शिक्षकसँगको वार्ता छिटो टुङ्गो लगाउन लागिएको उनले बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौं। वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छु, उनले भने, ‘सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
भलत शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट राखेको र त्यसमा ठोस निर्णय नभइसकेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । उनका अनुसार आज फेरि छलफल गर्ने समझदारी भएको छ। आजै सहमति हुन सक्ने उनको विश्वास थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
