प्रा. घनश्याम भण्डारी । म बुक भइसकेँ उनले दुइटै लासको अनुहार हेरिन् अनि भक्कानिएर रोइन् । रेखाको हातमा हतकडी लगाइयो अनि भ्यानमा राखेर लगियो । ….. मेरा आँखामा आँसु टल्पलाएका रहेछन् । अनायासै पुछेंछु । आज मैले किसन सरले लेखेको उपन्यास पढिसिध्याएँ । अस्तिनैं सर बुक दिनुभएको थियो उपहारको रूपमा । आधाउधि पढेर छोडेको थिएँ । त्यसबेला मैले प्रतिक्रिया लेखौंला भनेको त हुँ तर…. यसलाई मेरो लापरवाही नै मान्छु । धन्न हिजो सर्जक किसन सरले संझाउनुभयो । अरु त केही भन्नुभएन कस्तो लाग्यो त सर मेरो लेखाइ ? म अवाक भएँ र पढेको जति केही भनेर उम्किएँ । एउटा लेखकले कति परिश्रम गरेर कृति निर्माण गरेको हुन्छ मान्छेले किनेर पढ्नु त कता दिएको पुस्तक पनि हामी पढ्दैनौं । त्यसै बिर्सन्छौं, दिन बिताइदिन्छौं । मानौं पुस्तक लेख्नु, दिनु र पढिदिन पनि अनुरोधै गर्नपर्ने पो हो कि ?!
लेखकले त्यसमा पनि पुस्तक दाताले दिएको पुस्तक पढेको प्रमाण खोज्नु उसको हक हो । मैले सरि ल किसन सर भनेर त भनें तर भित्रभित्रै पढ्ने अठोट समेत गरें । आज लागिरहेको छ धन्न पढेंछु । हामी पुस्तकजीवीहरूले पढ्नै पर्छ । काठमाडौं शिक्षा क्याम्पसमा प्राध्यापनरत किसन आले मगरले ‘म बुक भइसकें’ शीर्षकको औपन्यासिक कृतिले काठमाडौं शिक्षा क्याम्पस, विष्णुदेवी मन्दिर, थानकोट, बानेश्वर, नुवाकोट आदि सेरोफेरोमा हिंडेर कथा बुनेको छ । जम्मा १३२ पेज र ४८ वटा मोडमा बुनिएको कथाले किसन आले सरलाई साच्चै सामाजिक आख्यानकार बनाएको छ । हुन त कृष्ण सरले ‘यौन मनोविज्ञान मेरो रुचिको क्षेत्र हो ।’ (पृ. ४) भन्नुभएको छ । यौन मनोविज्ञानको विषयमा लेखिएका विषयवस्तुको बारेमा फेरि कुनै बेला चर्चा गरौंला । आज यसै कृतिको बारेमा केही लेखौं ।
हुन त फ्रायडले जीव यौनबाट नै परिचालित छ भन्छन् । यसलाई केही हदसम्म नकार्न मिल्दैन । यो उपन्यास पढेपछि लाग्यो किसन सर त्यसतर्फको यात्री त हो नै तर पुग्न अझै यात्रा तय गर्नु पर्ला । त्यसैले मैले यो उपन्यासलाई सामाजिक नै भन्न रुचाएँ ।एउटी बैंसले मात्तिएकी रेखाको बेसरम प्रेम यसमा छ । एउटा पाको र अध्ययनशील अधबैसे नुवाकोट तारूका घर हुने चाइनिज आँखे मान्छेलाई प्रेमपासमा पारेर पछि ऊ दुइ वर्षको Ph d पढ्न गएको अवस्थामा यौवनको मातमा आयुषको प्रेमजालमा परेर त्यतै मरिहत्ते गर्नु रेखाको ठुलो भुल थियो भन्ने कुरा यहाँ कलात्मक रूपले वर्णन गरिएको छ । प्रेम र भोगको चरम उदाहरण यस उपन्यासका पात्रले सजिलै प्रस्तुत गरेका छन् ।
चालिस वर्षसम्म एक्लै बसेको सरलाई एउटी केटीले धोका दिंदैमा पागल नै हुनुपर्ने त के नै थियो र ? तर एउटा विश्वास र आस्थामा रहेको मान्छेमा यो घटना स्वाभाविक लागेको छ । समान वयकी सारंगाले तारुकामा रहेको घरको र खेतिपातीको बन्दोबस्त गर्नेमात्र होइन भित्रभित्रै चाइनिज सरको समेत हेरचाह गर्ने चाहना हुन्छ तर सरको बेवास्ता र एकोहोरो पनले त्यो सहजमार्ग तय हुन सकेन ।
अस्ट्रेलियामा बसेको धनी बाउकी छोरीको रूपमा देखा परेकी रेखाले पाकै भएपनि सरको मायाँ खोज्नु, आदित्य सरले स्वीकार गर्न सल्लाह दिनु र धोका दिएपछि चिन्तित हुनु राम्रै कथानक हो । ‘दुलहा बनाउँछु भन्थी पागल बनाएर गई ।’ चाइनिज सरमा चरितार्थ भएको छ । छात्रवृत्तिमा अस्ट्रेलिया जाने बेलामा भर्खर बिहे गरेकी जवान श्रीमतीलाई फकाइफुल्याइ नगर्नु वा नदेखाउनु बेमेल बिहेको परिणाम हो भन्ने सहजै देखा परेको छ । आयुषको लेहेंगा सहजै स्वीकार गर्नु र प्रेममा परेर गर्भधारण गर्नको लागि उद्यत हुनु नारीगत सहज गुण हो भन्ने देखाइएको छ ।
समान उमेरको पुरुषसँग सहज तरिकाले आकर्षण र पाकासँग विकर्षण हुन्छ यो स्वाभाविक हो । अन्त्यतिर कथा तिलस्मी पाराले सरासर अघि बढ्नु यो उपन्यासको रोचक पक्ष हो । चाइनिज सर डा. बनेर आउँदै गर्दा आयुषको गर्भ फाल्ने योजनामा रहेकी रेखाले सायद त्यसो गर्न इच्छा र समय दुबै रहेन रेखासँग । विदेशबाट आएको लोग्नेलाई गर्ने स्वागतमा कुनै चासो देखाउन सक्दिन । यस प्रकारको व्यवहारबाट सशंकित चाइनिज सरले कुरा गर्दै गर्दा सोझै ‘म त बुक भइसकें’ भन्ने शब्दले उसको मुटु छेडिदिन्छ । चाइनिज सरको कोठा छोडेर आयुषसँग हिंडे पछि उसको रंगीन जीवन सुरु हुन्छ । तर सोचेजस्तो हुन्न जीवन ।
वियोगान्त कथानक रहेको यो उपन्यासले समाजमा एउटा छाप छोड्ने नै छ । पाठकले सोच्नै नभ्याएको घटना एक पछि अर्को गर्दै घटित भैरहेका छन् । रेखीय शैलीमा लिखित यो उपन्यासले किसन आलेलाई उत्कृष्टताको शिखरतिर लगेको छ । ‘हुने हार दैव नटार’ भनेजस्तै छोरोको अपहरणले अत्तालिएको अवस्थामा लोग्नेको दुर्घटनाको फोनले गाडीमा हुइँकिदै गर्दा आफ्नै कारणले पागल भएको पागल प्रेमी चाइनिज सरको आफ्नै गाडीले लागेर मरणासन्न हुन्छन् । बानेश्वरको हस्पिटलमा लगिन्छ उता आफ्नो लोग्ने पनि त्यहीं भर्ना गरिएकोमा दुबैको लाश आफ्नै आँखा अगाडि देख्छिन् त्यति मात्र कहाँ हो र? दुर्घटनामा पागल प्रेमीको हत्या भएकोमा रेखाको हातमा हतकडी समेत लाग्दा मनमुटु छियाछिया हुन्छ पाठकको ।
उपन्यासमा प्रयुक्त वाक्यावली, व्याकरण र भाषा सुन्दर छ । केही त्रुटि देखाउँ भनेर हेर्दा- पात्रहरूलाई तँ, तिमी र तपाइँ को प्रयोगमा चाइनिज सरलाई तँ वा ऊ नै भन्नुपर्ने होइन विचमा तिमी पनि प्रयोग भएको छ । नारीपात्रलाई सदैव तिमीको प्रयोग ठिकै हो । बिहे गराउने गुरुलाई तँ भन्नु र चिफसरलाई हजुर शब्द केही नमिलेको हो कि ? जस्तो लाग्छ ।
लेखकले सुरुमै यो लेख्दा र नलेख्दा कुनै फरक पर्ने होइन भनेर आफ्नो उदारता प्रकट गरेको भए तापनि हाम्रो लागि यो ग्रन्थ रत्न नै हो । यो उपन्यासको माध्यमबाट लेखकले विभिन्न क्षेत्रमा लागेकाहरूले सोचसमझका साथमा अघि बढिएन भने आउँदो जीवन सुखमय हुँदैन र उसले कसैको सहानुभूति पनि प्राप्त गर्न सक्दैन भनेर सन्देश प्रदान गरेको छ । यस उपन्यासको लेखनले लेखकको सुकीर्ति फैलिने नै छ । हार्दिक बधाई एवं शुभकामना !
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
