काठमाडौं । पूर्वमन्त्री तथा अवकाशप्राप्त सचिव रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई बिगो बमोजिमको सम्पत्ति जफत गरी ६ महिना कैद र ९८ लाख २९ हजार रुपैयाँ जरिवाना तोकेको छ।
सम्पत्ति अस्वाभाविक देखिएपछि श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०७८ फागुनमा चार करोड ४५ लाख २७ हजार रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । श्रेष्ठले वि.सं. २०२६ चैत १८ गते शिक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी वि.सं. २०३६ कात्तिक २६ गते शाखा अधिकृत नियुक्त भएका थिए ।
पदोन्नती हुँदै वि.सं. २०६४ माघ ८ गते उनी सचिव पदबाट सेवानिवृत्त भएका थिए । खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषद्मा श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए ।
अख्तियारले श्रेष्ठको कूल ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको सम्पत्तिमध्ये चार करोड ४५ लाख २७ लाख रुपैयाँको स्रोत नखुलेको जनाएको थियो । स्रोत नखुलेको अकुत सम्पत्ति आर्जनमा श्रेष्ठकी पत्नी र छोरालाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।
गोरखाको आरुघाटमा जन्मिएका श्रेष्ठ स्थानीय भीमोदय माविका शिक्षक थिए । हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समय सोही विद्यालयमा पढाउँदा श्रेष्ठ प्रधानाध्यापक थिए । सोही चिनजानका आधारमा श्रेष्ठले माओवादी शान्ति प्रकृयामा आएपछि सम्बन्ध थप विस्तार गरेका थिए । निकट सम्बन्ध भएकै कारण प्रचण्डले रेग्मी नेतृत्वको सरकारमा श्रेष्ठलाई आफ्नो दलको कोटाबाट सिफारिस गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
