कोरोना बढेसँगै पुनः कडा किसिमको निषेधाज्ञा, सवारी र बैंक पूर्ण बन्द, खाद्य पसल ३ घण्टा मात्रै खुल्ने

गुल्मी । कोभिड–१९ संक्रमण ह्वात्तै बढ्न थालेपछि गुल्मीमा पुनः कडा किसिमको निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले निषेधाज्ञालाई कडा बनाउँदै साउन ३२ गतेसम्म लम्ब्याएको हो ।

यस अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रावती शर्माले जानकारी दिए ।

Advertisement

थपिएको निषेधाज्ञामा खाद्य वस्तु बेच्ने पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहने छन्।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै सञ्चालन गर्न पाउने भएका छन्।

निषेधाज्ञामा एम्बुलेन्सबाहेक मोटरसाइकलसहित र सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ ।

अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन्। गुल्मीमा कोरोना संक्रमणबाट हालसम्म ९३ जनाको ज्यान गएको छ ।

More News last news
Loading...