तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ?

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माका सुझाव:

Advertisement

पहिलो: वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ।

५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ।

दोस्रो: अझै बढी विषादीलाई हटाउनु छ भने एक चम्चा नुन एक लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने।

त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्छ।

नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा पनि हुन्छ।

तेश्रो: अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ। धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ।

बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ। उदाहरणको लागि बन्दाकोभी छ भने माथिको दुई तीन पत्र नै हटाउनुपर्छ। त्यो हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ। स्याउको पनि बाहिरको ब्रोका छोडाउन सकिन्छ।

चिकित्सकहरूले कतिपय फलफूलका बोक्रामा शरीरलाई फाइदा पुर्‍याउने रेशाहरू हुन्छन् भन्ने गर्छन्। तर विषादी खाने कि नखाने भन्ने निर्णय चाहिँ हामी आफैँले गर्नुपर्छ।

चौथो: एकै प्रकारका फलफूल वा तरकारी खानु हुँदैन किनभने त्यसले विषादीको जोखिम बढाउँछ। खासगरि बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी मिसिएको हुन्छ। हामीले मौसमी फलफूल र तरकारी खान जोड गर्नुपर्छ।बीबीसीको सहयोगमा

More News last news
Loading...