२४ लाखको भुक्तानी विवादमा रेडक्रस कास्कीमाथि प्रश्न : खरिद प्रक्रियामा कैफियत, नगर प्रमुखमाथि हातपात प्रयास
सम्झौताअनुसार भुक्तानी माग्दै आएको रेडक्रस कास्कीको दाबी, नगरपालिकाले औँल्यायो खरिद प्रक्रिया र स्थलगत मूल्याङ्कनमा त्रुटि
स्याङ्जा । बेलघारी अठासी गुरुत्व प्रवाह खानेपानी तथा सरसफाइ परियोजनाको भुक्तानी विवादले पुतलीबजार नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाबीच तनाव बढाएको छ। बुधबार नगरपालिका कार्यालयमा भएको छलफलका क्रममा रेडक्रस कास्कीकी सभापति उर्मिला खड्का भण्डारी सहितका पदाधिकारीले नगर प्रमुख तुलसीराम रेग्मीमाथि हातपातको प्रयास गरेको नगरपालिकाका कर्मचारीले आरोप लगाएका छन्।
विवादको मुख्य विषय सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने भनिएको २४ लाख ७२ हजार ५७ रुपैयाँ र परियोजनाको खरिद प्रक्रिया तथा प्राविधिक मूल्याङ्कनमा नगरपालिकाले औँल्याएका कैफियत हुन्।नगरपालिका र रेडक्रस कास्कीबीच २०८१ कात्तिक १२ गते परियोजना कार्यान्वयनका लागि सम्झौता भएको थियो। रेडक्रसले२०८३ जेठ १२ गते पत्र पठाउँदै ९३ घरमा धारा जडानसहित काम सम्पन्न भएको दाबी गरी सम्झौताअनुसारको रकम भुक्तानी मागेको थियो।
तर, नगरपालिकाले सामग्री खरिद प्रक्रिया, जिल्ला दररेटभन्दा बढी मूल्यमा खरिद गरिएको विषय र स्थलगत प्राविधिक मूल्याङ्कनमा कैफियत देखिएको भन्दै भुक्तानी रोकेको जनाएको छ।नगरपालिकाको उपलब्ध विवरणअनुसार परियोजनाका लागि ४६ लाख ३८ हजार ५४ रुपैयाँ ५६ पैसाको सामग्री सोझै खरिद गरिएको थियो। त्यस्तै, एक करोड १० लाख ५९ हजार ३७५ रुपैयाँ २३ पैसा लागत अनुमानको आयोजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको विषयमा पनि कानुनी प्रक्रियासम्बन्धी प्रश्न उठाइएको छ।नगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गर्दा संस्थाले पेस गरेको मूल्याङ्कनअनुसार काम नभेटिएको कागजातमा उल्लेख छ। यी कैफियतका आधारमा नगर प्रमुखस्तरीय निर्णयबाट रद्द गरिएको सम्झौतालाई कार्यपालिका बैठकले सर्वसम्मत अनुमोदन गरेको नगरपालिकाको उपलब्ध कागजातमा उल्लेख छ।
रेडक्रसले सम्झौताअनुसार काम सम्पन्न गरी भुक्तानी मागेको दाबी गरेको छ भने नगरपालिकाले खरिद प्रक्रिया र प्राविधिक मूल्याङ्कनमा त्रुटि देखाउँदै रकम निकासा रोकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
