अहिले अधिकांशको जागिर कम्प्युटरमा घन्टौसम्म बसेर काम गर्ने हुन्छ । तपाईं पनि प्रोफेसनल व्यक्ति हुनुहुन्छ र लामो समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढी दबाब आाखामा परिरहेको हुन्छ । निरन्तरको कम्प्युटर बसाइले दिनप्रतिदिन आँखा कमजोर हुादै गएको धेरैको दुखेसो सुनिन्छ । यस्ता प्रोफेसनल व्यक्तिका लागि आँखारोग विशेषज्ञ डा। इन्दुप्रसाद ढुंगेलले केही सुझाब दिएका छन् :
आँखा र डेस्कटपको उचाइ
लामो समय कम्प्युटरमा बसेर काम गर्नेले आँखा र डेस्कटपको उचाइमा विशेष विचार पुर्याउनुपर्छ । आँखाभन्दा डेस्कटप केही तल नै भयो भने सबैभन्दा राम्रो हुन्छ । बराबर उचाइमा हुँदा पनि बेठीक नै भने हुँदैन । तर, आँखाभन्दा डेस्कटपलाई उचाइमा राखेर घन्टौँ काम गर्नुचाहिँ आँखाका लागि घातक हुनसक्छ । यस्तो अवस्थामा नजानिँदो तरिकाले गर्धनको हाडमा असर परिरहेको हुन्छ । हामीलाई थाहा हुँदैन । दीर्घकालमा हाड र आँखामा गम्भीर असर देखिन सक्छ ।
आँखा र डेस्कटपको दूरी
लामो समय निरन्तर कम्प्युटरमा काम गर्ने व्यक्तिले आँखा र डेस्कटपको दूरीबारे पनि ख्याल गर्नुपर्छ । सामान्यतस् ५० सेन्टिमिटर दूरी राख्नुपर्छ । अलिकति तलमाथि हुँदा भने खासै फरक पर्दैन । धेरै नजिक या धेरै टाढा डेस्कटप राखेर काम गर्दा आँखामा असर पर्छ ।
स्क्रिनभन्दा पछाडि बत्ती
कम्प्युटरको स्क्रिनमा सीधा टल्किने गरी कोठामा बत्ती राख्नु हुँदैन । स्क्रिनमा परेको लाइट आँखामा रिफ्लेक्ट भएर गम्भीर असर गर्छ । त्यसैले स्क्रिनको अगाडि कहिल्यै पनि बत्ती फिटिङ नगर्नुहोला । कम्प्युटर स्क्रिनभन्दा पछाडि या सिलिङमा बत्ती राख्नुपर्छ । कोठामा पहिल्यै बत्ती फिटिङ गरिएको छ भने त्यसैअनुसार कम्प्युटर डेस्कटप राख्नुपर्छ ।
माउस चलाउँदा हात स्थिर
घन्टौँसम्म कम्प्युटरमा काम गर्नेले माउस चलाउँदा हात फ्ल्याट बनाएर राख्नुपर्छ । बंग्याएर राख्नु हुँदैन । हात र औँलाहरू पटक–पटक बढी उठाउने गर्नु हुँदैन । हातलाई टेबलमा सपोर्ट दिएर राख्नुपर्छ ।
पङ्खारएसी आफ्नो पछाडि
कम्प्युटरमा बसेर काम गर्ने व्यक्तिले पङ्खा र एसी कहिल्यै पनि आफ्नो अगाडि राख्नु हुँदैन । पङ्खारएसीबाट निस्किने चिसो सीधा पर्दा आँखा सुक्खा हुन्छ र चाँडै असर पर्छ । जहिले पनि आफूभन्दा पछाडि पङ्खारएसी राखेर कम्प्युटर चलाउनुपर्छ ।
हरेक २० मिनेटपछि ब्रेक
कम्प्युटरमा काम गरेको हरेक २० मिनेटपछि आँखालाई आराम दिने गर्नुहोस् । यो ब्रेकको समय २० सेकेन्डदेखि एक मिनेट राख्न सकिन्छ । कुर्सीको आसनबाट उठ्नैपर्छ भन्ने छैन । तर, स्क्रिनमा हेरिरहेको आँखालाई अन्यत्र फोकस चेन्ज गराउनुपर्छ । यसो गर्दा आँखामा कम्प्युटरको असर कम गर्न सघाउ पुग्छ ।
हरेक घन्टा आँखाको कसरत
दिनभर कम्प्युटरमा काम गर्ने व्यक्तिले हरेक घन्टाको अन्तरमा केही समय निकालेर आँखाको कसरत गर्नु राम्रो हुन्छ । आँखालाई तल–माथि या दायाँ–बायाँ घुमाएर कसरत गर्न सकिन्छ । हरेक घन्टा एक–दुईपटक मात्रै गर्नुहोला । धेरै गर्नु पनि राम्रो हुँदैन ।
डा इन्दुप्रसाद ढुंगेल
आँखारोग विशेषज्ञ,
त्रिपुरेश्वर आँखा अस्पताल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
