गाडी ड्राइभिङ गर्दाको समयमा ध्यान दिएर मात्र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्ने छैन। किनभने, तपाईंले ड्राइभिङ गर्दै गरेको सवारीको कन्डिसन पनि सही हुन आवश्यक छ। त्यसका लागि केही समयको अवधिमा सर्भिसिङ गर्नु त छँदै छ, गाडीको स्टेरिङ समाउनुअघि पनि गाडीको परीक्षण गर्न जरुरी हुन्छ।
गाडी चलाउनुअघि पानीको मात्राबारे जाँच गर्नुपर्छ। ड्राइभिङ गर्नुअघि पानीको परिमाण अधिकतम बिन्दुमा हुनुपर्छ । नयाँ सवारीसाधन छ भने ४–५ दिनको अवधिमा पानी थपिरहनुपर्छ। तर, पुरानोमा भने दिनहुँ थप्नुपर्ने पनि हुन सक्छ । गाडीमा पानीको मात्रा सही भएन भने इन्जिन तातिएर चाँडै बिग्रने डर हुन्छ।
गाडी हाँक्नुपूर्व लुब्रिकेन्टको परिमाणबारे पनि थाहा पाउन जरुरी हुन्छ। लुब्रिकेन्टलाई जहिले पनि अधिकतम बिन्दुमा राख्नुपर्छ। सामान्यतया तीन हजार किलोमिटरको दूरी पार गरेपछि लुब्रिकेन्ट परिवर्तन गर्नुपर्छ। विशेषगरी, लामो दूरीको यात्रामा हिँड्नुअघि लुब्रिकेन्ट परिवर्तन गर्दा राम्रो हुन्छ। गाडीमा सधैँ एउटै ब्रान्ड र गुणस्तरको लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ।
ब्रेक आयलको कमी भएमा ब्रेकले राम्रो काम गर्दैन। जसका कारण ठूलो दुर्घटनासमेत हुन सक्छ। त्यसैले सवारीसाधनमा ब्रेक आयल पनि सधैँ निश्चित परिमाणमा राख्नुपर्छ। विशेषगरी, यस्ता आयल दुई प्रकारका हुन्छन्। तर, आफ्नो सवारीमा भने सधैँ एकै प्रकृतिको ब्रेक आयल प्रयोग गर्नुपर्छ।
गाडीमा गियरको निकै महत्वपूर्ण भूमिका हुन्छ । गियर आयलको परिमाण उचित नभएमा सवारीको गियर बक्सको दाँती बिग्रनेलगायतका समस्या हुन्छ । त्यसैले सवारी हाँक्नुअघि यस विषयमा पनि विशेष ध्यान दिनुपर्छ।
सवारीमा भएको ब्याट्रीले इन्जिन सञ्चालन गर्ने काम गर्छ। त्यसैले सवारी हाँक्नुअघि ब्याट्रीमा पानीको मात्रा सही भए/नभएको जानकारी लिनुपर्छ । ब्याट्रीमा पानी नभएमा इन्जिन स्टार्ट नै हुँदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
