बढ्दो एयर ट्राफिक जामपछि नयाँ जहाजलाई काठमाडौंबाट उडान अनुमति बन्द

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नयाँ एयरलाइन्स कम्पनीलाई काठमाडौंबाट उडान अनुमति नदिइने जानकारी दिएका छन्। मन्त्री अधिकारीले पुराना एयरलाइन्स कम्पनीले थप्ने जहाजका लागि बेस उडान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

विमानस्थलमा बढ्दो एयर ट्राफिक जाम न्यूनीकरणका लागि आन्तरिक उडानका केही उडान घटाउन समेत अधिकारीको निर्देशन छ। आन्तरिक उडानका केही उडान घटाएर अन्तर्राष्ट्रियतर्फका जहाज आकाशमा होल्ड गर्नुपर्ने अवस्था कम गर्ने सरकारीको योजना छ। एक सय दिनको कार्यक्रम सार्वजनिक भएको एक महिनापछि अधिकारीले सबै निकायमा प्रमुखलाई मन्त्रालयमा बोलाएर कामको प्रगति विवरण माग्दै यस्तो निर्देशन दिएका हुन्।

Advertisement

अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको आन्तरिक उडानका लागि अर्को विमानस्थल निर्माण गर्न सकिने ठाउँको सम्भावना अध्ययन गरी अबको १४ दिन भित्र ठाउँ तोक्न पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। प्राधिकारणले भने काभ्रेको ठूली चौरको विकल्पमा पलाञ्चोक र नागीडाँडामा प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई जसरी भए पनि पाइलटको व्यवस्थापन गरेर नियमिति रूपमा जहाज उडाउन भनेका छन्। ‘अहिलको काम सन्तोष जनक नै छ’, मन्त्री अधिकारीले भने, ‘सय दिनको कार्यायोजना ९० प्रतिशत पूरा हुनपर्छ।’

काठमाडौंको पर्यटकीय गन्तव्यमा विद्युतीय सवारी सञ्चालन गर्न र सबै गन्तव्यमा रात्रिकालीन बत्तीको व्यवस्था गर्नसमेत नेपाल पर्यटन बोर्डलाई अधिकारीले निर्देशन दिएका छन्। तर, मन्त्री अधिकारीले आफ्नो सय दिनको काम भित्रराखेको ‘होप अन होप अफ’ सवारी सञ्चालनको कार्य सम्भव नभएको भन्दै यसमा नलाग्न पर्यटन बोर्डलाई सुझाव दिएका छन्।

विमानस्थ कार्यालले जेठ ७ गतेबाट २१ घन्टा विमानस्थल सञ्चालन गर्ने जानकारी गराएको छ। तत्कालको अवस्थामा अहिले बढी ट्राफिक जाम हुने समयमा रहेको उडानलाई व्यवस्थापन गर्ने गरी २१ घन्टा विमानस्थल जसरी भए पनि सञ्चालन गर्ने निर्देशन दिएका छन्।

मन्त्री अधिकारीले नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई आकाशका जहाज बढी समय घुमाएर दुई दिनको भत्ता खाने पाइलको विवरण समेत पेस गर्ने निर्देशन दिएका छन्। नेवानिभित्र रहेको पाइलटको दादागिरि अन्त्य, टिकट बिक्रीमा, सुधार र नयाँ जहाज खरिल गर्दै दुर्गच क्षेत्रका जनताले जहाज चढ्न पाउने अधिकारी प्रत्याभूत गराउनुपर्ने उनको भनाइ छ।

निजी हवाई सेवा प्रदायकले जस्तै नियमित रूपमा तालिकाअनुसार जहाज उडान गराउने गरी नेवानिको सुधार गर्न उनले कंसाकारलाई सुझाएका छन्। मन्त्रालयमा भएको छलफलमा सचिव कृष्ण देवकोटाले काम गर्दा यस्तो भयो तर, भएको छ भन्ने जस्ता शब्द अब नचल्ने भन्दै सबैलाई काममा एकचित भएर लाग्न निर्देशन दिए। नेपाल नागरिक उड्डन प्राधिकरणले केही दिनभित्र गुल्मी र इलामको विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ। अन्नपूर्ण पोस्ट दैनिकबाट

More News last news
Loading...