पोखरा l कास्कीको रूपा गाउँपालिकाले विविध कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय धान दिवस मनाएको छ। रूपा गाउँपालिकाको आयोजना तथा वडा नं. ५ कार्यालय र गाउँ विकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा ‘जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ रूपा–५, पौडेल फाँट, फेदीमा आयोजित कार्यक्रममा सामूहिक धान रोपाइँ, हिले खेलकुद, उत्कृष्ट धान उत्पादक कृषक सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।

रूपा–५ का वडाध्यक्ष राजन खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष नवराज ओझाले कृषि रुपा गाउँपालिकाको समृद्धिको प्रमुख आधार भएकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनले आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्दै कृषिमा आत्मनिर्भर बन्न सबै कृषकलाई आग्रह गरे।

धान दिवसको अवसरमा गाउँपालिकाका सातै वडाका उत्कृष्ट धान उत्पादक कृषकलाई जनही रु. ५ हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो।

सम्मानित हुनेमा रूपा–१ का बाबुराम ढकाल (१०० मुरी), रूपा–२ की समुन्द्रा ओझा (७० मुरी), रूपा–३ का मणबुझे कुमाल (६० मुरी), रूपा–४ का सूर्यबहादुर वंशी (९० मुरी), रूपा–५ का जनकराज जोशी (८० मुरी), रूपा–६ का सवाबक्स मियाँ (६५ मुरी) तथा रूपा–७ का रामेश्वर न्यौपाने (१७० मुरी) सम्मानित भएका थिए।

कार्यक्रमअन्तर्गत आयोजित हिले दौड प्रतियोगितामा विद्यार्थी, पुरुष र महिला गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो। विद्यार्थीतर्फ संगम बसौला प्रथम, सौरभ बसौला द्वितीय र आरोन श्रेष्ठ तृतीय भए। पुरुषतर्फ बादल परियार प्रथम, हरिचन्द्र बसौला द्वितीय तथा सूर्यबहादुर श्रेष्ठ तृतीय बने।
महिलातर्फ मीना पौडेल प्रथम, सुष्मा बसौला द्वितीय र तुलसी शर्मा बसौला तृतीय हुन सफल भए। विजेताहरूलाई क्रमशः रु. १ हजार ५००, रु. १ हजार र रु. ५०० नगद पुरस्कार प्रदान गरिएको थियो।

आमा समूहले प्रस्तुत गरेको असारे गीत, सामूहिक धान रोपाइँ तथा हिलोमै रमाएर खेलिएका विभिन्न खेलकुदले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कृषि संस्कृतिको संरक्षण, कृषकको सम्मान र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले स्थानीय समुदायमा उत्साह थपेको सहभागीहरूले बताएका छन्।
यसै अवसरमा, गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरूप नगद अनुदान वितरण कार्यक्रमको शुभारम्भ समेत गरेको छ। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको योजनाबाट गाउँपालिकाभित्रका २६३ जना हलगोरु पाल्ने कृषक लाभान्वित हुनेछन्। परम्परागत खेती प्रणालीको संरक्षण गर्दै कृषकलाई थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
