विगत केही वर्षयता वैदेशिक रोजगारी, विशेष गरी दक्षिण कोरियाको कमाइले नेपाली समाजको एउटा तप्कामा भित्र्याएको मानसिक र व्यावहारिक रूपान्तरण निकै विषाक्त र चिन्ताजनक बन्दै गएको छ। समाजमा स्थापित रैथाने भाषामा यसलाई ‘खेँदो खन्ने’ वा विनाकारण अहङ्कारको ‘खाँडो जगाउने’ प्रवृत्ति भन्न सकिन्छ। यो प्रवृत्ति कुनै एउटा व्यक्ति वा पदमा मात्र सीमित छैन; यो त विदेशमा श्रम बेचिरहेका युवाहरू, नेपालमा बस्ने उनीहरूका श्रीमती र आफन्तहरूको एउटा यस्तो साझा मनोविज्ञान बनिसकेको छ, जसले समाजमा स्थापित, लोकप्रिय, सफल वा बौद्धिक पहिचान बनाएका हरेक व्यक्तिमाथि विनाकारण निरन्तर प्रहार गरिरहेको हुन्छ।
यस प्रवृत्तिको विजारोपण भाषा परीक्षा उत्तीर्ण गरेकै बिन्दुबाट सुरु हुन्छ। दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षा (ईपिएस)पास गर्नासाथ ती युवाहरूमा एउटा अस्वाभाविक मानसिक दम्भ पैदा हुन्छ। उनीहरूले आफूलाई नेपालकै सबैभन्दा कठिन मानिने लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको वा कुनै ठूलो डाक्टरी उपाधि हासिल गरेजस्तो ठान्न थाल्छन्। “देशभरिका हजारौं प्रतिस्पर्धीलाई जितेर आएको हुनाले समाजको सबैभन्दा ‘ट्यालेन्ट’ र अब्बल दिमाग मेरै हो” भन्ने एउटा अदृश्य र भ्रमपूर्ण श्रेष्ठताको भावना उनीहरूको मानसपटलमा गहिरोसँग बस्छ। यही विन्दुबाट उनीहरूको सोच्ने शैली र सामाजिक दृष्टिकोण एकाङ्गी बन्न थाल्छ।
जब उनीहरू कोरिया पुग्छन् र त्यहाँको कमाइ नेपालका स्थापित डाक्टर, इन्जिनियर, प्राध्यापक वा उच्च तहका राष्ट्रसेवक कर्मचारी (प्रोफेसनलहरू) को भन्दा बढी हुन थाल्छ, तब उनीहरूको दम्भले सीमा नाघ्छ। समाजमा वर्षौंदेखि स्थापित ती प्राज्ञिक र व्यावसायिक वर्गको बौद्धिकता, श्रम र सामाजिक योगदानलाई उनीहरू केवल ‘पैसाको अङ्क’ सँग तुलना गर्छन्। “जतिसुकै पढेलेखेको वा ठूलो ओहोदाको भए पनि महिनाको कमाइ त मेरै बढी छ” भन्ने तल्लो तहको चेतनाले गर्दा उनीहरूमा समाजका स्थापित वर्गप्रति ‘ए जाबो!’ भन्ने घमण्ड र तुच्छ दृष्टिकोण संस्थागत हुन्छ। मनोविज्ञानको भाषामा यसलाई ‘सडन वेल्थ सिन्ड्रोम’ (सडेन वेल्थ सिन्ड्रोम ) भनिन्छ, जहाँ अचानक प्राप्त भएको पुँजीको भार मस्तिष्कले थेग्न नसक्दा मानिसले आफ्नो धरातल भुल्छ।
यो सामाजिक र मानसिक आक्रमणको एउटा निकै डरलाग्दो र क्रमिक चक्र (ईभोलुस्नरी प्याट्रन)छ। यो विकृत अहङ्कारको प्रहार सबैभन्दा पहिले आफ्नै घरभित्रबाट सुरु हुन्छ। उनीहरू र उनीहरूका आफन्तले सुरुमा आफ्नै परिवारका स्थापित, पाका र आदरणीय सदस्यहरूलाई हेप्न, उनीहरूको सल्लाहलाई लत्याउन र उनीहरूको अस्तित्वलाई चुनौती दिन थाल्छन्। जब आफ्नै घरभित्र उनीहरूको दम्भले ठाउँ पाउँछ, तब यो बिस्तारै टोल, छिमेक र सिङ्गो गाउँतिर सोझिन्छ। टोल-छिमेकमा आफ्नो आर्थिक धाक देखाउँदै र अरूलाई तुच्छ ठान्दै यो प्रवृत्ति क्रमिक रूपमा अगाडि बढ्छ र अन्ततः सिङ्गो समाज वा राष्ट्रकै स्थापित, लोकप्रिय र बौद्धिक व्यक्तित्वहरूको खेँदो खन्ने स्तरसम्म विस्तार हुन्छ।
श्रमको वास्तविक पीडा महसुस नभएपछि त्यो पैसा बैंक खातामा देखिने डिजिटल नम्बर मात्र भइदिन्छ, जसले नेपालमा बस्ने परिवारका सदस्यहरूमा क्षणिक आनन्द र विलासिताको हर्मोन (डोपामाईन) सञ्चार गराउँछ। यही सजिलो पैसाको आडमा गाउँ छोडेर सहर झरेका परिवारहरू बजारको चकाचौंध र उपभोक्तावादी संस्कृतिको दलदलमा फस्छन्। हातमा महँगो स्मार्टफोन र खातामा पैसा भएपछि मानिसमा आफू सामाजिक, कानुनी वा नैतिक नियमभन्दा माथि रहेको भ्रम पैदा हुन्छ। वास्तविक जीवनमा समाजका लागि कुनै रचनात्मक वा ठोस योगदान नभएका यी व्यक्तिहरूले आफ्नो अस्तित्व सिद्ध गर्न अनलाइन र अफलाइन दुवै माध्यममा स्थापित व्यक्तित्वहरूको खेँदो खन्न सुरु गर्छन्। “हामीसँग पैसा छ, हामी जसलाई पनि ढाल्न वा बदख्वाइँ गर्न सक्छौं” भन्ने यो आत्मघाती दम्भले उनीहरूलाई ग्रसित पारेको हुन्छ।
वर्षौंदेखिको सामाजिक भोगाइ र निरन्तरको अवलोकनले यही कुरुप सत्यलाई उजागर गरेको छ। रेमिट्यान्सले देशको अर्थतन्त्र र घरको चुल्हो त बालेको छ, तर समाजको जग, संस्कार र मर्यादालाई भित्रभित्रै मक्कयाउँदै लगेको छ। यो आक्रामकता कुनै व्यक्तिगत वैमनस्यताको उपज होइन, बरु आर्थिक रूपमा सम्पन्न तर वैचारिक, सांस्कृतिक र मानसिक रूपमा कङ्गाल बन्दै गएको एउटा सङ्क्रमित पुस्ताको ऐना हो। पैसाले हैसियत फेरिएर पनि चेतना, सभ्यता र विनम्रता नफेरिएको यो जमात समाजका लागि एउटा गम्भीर चुनौती बनिरहेको छ। समाजलाई सन्तुलित र मर्यादित बनाइराख्न अब केवल आर्थिक सम्पन्नता मात्र पर्याप्त छैन, बरु हराउँदै गएको सामाजिक चेतना, संस्कार र बौद्धिक विमर्शको पुनर्जागरण अपरिहार्य भइसकेको छ।
(नोट: यो लेख एक मनोवैज्ञानिक द्वारा दक्षिण कोरिया गएका ९३० जना नेपाली युवाहरू र उनीहरूका घर-परिवारका सदस्यहरूको व्यवहार, जीवनशैली, र मानसिक परिवर्तनको सूक्ष्म अध्ययन तथा अध्ययनबाट प्राप्त तथ्याङ्कको आधारमा तयार पारिएको हो।)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
