एलिना चौहानले हालिन् पति विरुद्ध डिभोर्सको मुद्दा, ३ महिनामा नै बिग्रेको रैछ सम्बन्ध

काठमाडौँ l बिहे गरेपछि पति बिष्णु सापकोटासित अस्ट्रेलिया पुगेकी गायिका एलिना चौहानको सम्बन्ध तीन महिनाको बसाईका क्रममा नै बिग्रेको फिरादपत्रमा उल्लेख गरेकी छन्। एलिना चौहानले पति बिष्णु सापकोटाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी छन्।

झापा स्थायी घर भएकी गायिका चौहानले बाग्लुङका सापकोटासित हालै मात्र बिबाह गरेकी थिइन्। केही समयअघि मात्र उनीहरुको सम्बन्धमा खटपट भएको सार्वजनिक भएको थियो।

चौहानले डिभोर्सको मुद्दा  हालेपछि उनले भोगेको विषय पनि सतहमा आएको छ।निवेदनमा उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी छन् ।

निवेदनको एक अंशमा भनिएको छ, ” म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नु पर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा भलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहीक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु ।

विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ ।”

चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह गरेकी थिइन् ।गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

More News last news
Loading...