काठमाण्डौ । गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो।
भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ।
अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ। गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन्।
जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न शुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न शुरु गरेका छन् ।
निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । ‘जाजरकोट तथा रुकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुध्द एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौँ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुध्द एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा त्यो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिनुभयो ।
एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकहलाई आग्रह गरेको थियो । आजै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।
त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि भूकम्पपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले आज विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट सङ्कलन गरेर त्यो रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिनुभयो ।
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
