आजबाट नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्ने

काठमाडौं। नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान सुरु गर्दैछ। गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर-भैरहवा-काठमाडौं उडान गर्दै आएको छ।

अब आजदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौंसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौं-दिल्ली र काठमाडौं-हङकङकै भाडादरमा उडान सुरु गर्न लागेको हो।

Advertisement

उनले भने, “भैरहवाबाट बिहान ९ बजे काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ। यस अन्तर्गत पहिलो उडानका क्रममा निगमले आज बिहान ८ः३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौं आउने छ।”

उनले निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ र दिल्ली जाने यात्रु बोकेर काठमाडौँ आउने बताए।

अहिले निगमले काठमाडौं-मलेसिया-भैरहवा रुट बनाएर उडान गरिरहेको छ। निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया पुगेको छ। उक्त जहाज आज मलेसियाबाट भैरहवा आउने छ।

उनका अनुसार भैरहवा-हङकङ र भैरहवा-दिल्ली उडानको लागि टिकट खुला भइसकेको छ। सोमबारबाट यो रुटको उडानका लागि टिकट बुकिङ सुरु भएको हो।

यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन। निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो।

अन्तर्राष्ट्रिय उडानका लागि दुवै देशका नियामक निकायसँग अनुमति लिनुपर्ने भएकाले भारतको नियामक निकायले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन।

More News last news
Loading...