पत्र पठाएपछि बिना अनुमति नेपाली आकाशमा भारतीय हेलिकप्टरको उडान रोकियो

दार्चुला । केही दिनयता बिना अनुमति दार्चुला जिल्लाको सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाएर विवादित भूमी कालापानी जाने गरेकोमा पत्राचारपछि भारतीय हेलिकप्टरको उडान रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गएको शनिवार भारतीय अधिकारीलाई पत्र लेख्दै, बिना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाउने गरेको भन्दै पत्र पठाएपछि हेलिकप्टरको उडान कार्य रोकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार आफूले पत्रसँगै भारतीय एसडीएमसँग टेलिफोन सम्बाद समेत गरेको बताउनु भएको छ ।

प्रशासनले पठाएको पत्रको जवाफ नआए पनि भारतीय एसडीएमले अबदेखि बिना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडान नगर्ने टेलिफोन सम्बादमा प्रतिकृया दिएपछि उडान कार्य रोकिएको उहाँले बताउनु भयो । यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमति बिना नेपाली आकाशमा हेलिकप्टर उडाएको बारे गृह मन्त्रालयलाई समेत जानकारी गराएको छ ।

गृह मन्त्रालयले भारतसँग कुरा गर्नका लागि परराष्ट्र मन्त्रालयमा पठाएको पत्रको प्रतिलिपि दार्चुला प्रशासनलाई केही दिन पहिले उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भएको छ । तर, परराष्ट्र मन्त्रालयले भारतसँग कुरा गरेको वा नगरेको भन्नेबारे जानकारी नदिएको प्रशासनले जनाएको छ ।

विगतमा पनि भारतले सीमा क्षेत्रमा हेलिकप्टर उडाउने गरेको थियो । तर, गएको शनिवार पठाइएको पत्रपछि भने हेलिकप्टर नेपाली आकाशमा नउडेको प्रजिअ जोशीले बताउनु भयो । अहिले भने भारतीय हेलिकप्टर आफनै भूमीबाट भारतीय आकाशमै फन्को लगाएर धेरै उचाइमा उड्ने गरेको छ ।

भारतले माथिल्लो क्षेत्रमा बर्षाले सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको लागि खाद्यान्न ढुवानीको लागि हेलिकप्टर प्रयोग गरिएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी गराउनु भयो ।

मुख्यगरी भारतीय हेलिकप्टरले दार्चुला खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटर कार्यालय सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि तथा प्रदेश र संघ अन्तरर्गतका कार्यालय माथिबाट लगातार रुपमा भारतीय हेलिकप्टरले फन्को मार्ने गरेको छ ।

More News last news
Loading...