काठमाडौं । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ ।
सर्वोच्च अदालतको आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ९३ सदस्य कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ मत आवश्यक पर्छ ।
तर, अहिलेको गठबन्धनमा रहेका कांग्रेस २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६ मात्र पुग्छ भने एमालेका ४० र राप्रपाका ६ सांसद छन् । अहिलेकै राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था छैन।
यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस–माओवादीको प्रयास जारी रहेको छ । शीर्ष नेताहरुबीच शनिबार पनि कोशीमा नयाँ सरकार गठनबारे विभिन्न विकल्पबारे छलफल भएको थियो । राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा शीर्ष नेताबीच छलफल भएको हो ।
सर्वोच्चले तटस्थ भूमिकामा रहनुपर्ने सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले कांग्रेस नेता उद्धव थापालाई असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री नियुक्ती संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै एमालेका नेता हिक्मत कार्कीले असार २२ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सर्वोच्चले फैसलाले थापा नेतृत्वको सरकार ढलेको हो । त्यससँगै कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । प्रदेश प्रमुखले सा साउन १६ गतेभित्र सरकार गठन गर्न आह्वान गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
