काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ ।
आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी चार जना उम्मेदवार रहेका छन् । यद्दपि प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छन् । उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
