काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि बुधबार निर्वाचन हुने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो। त्यसबारे तयारी अघि बढाउन आज (साेमबार) बिहान पनि निर्वाचन समितिको बैठक बसेको थियो।
समितिकी सदस्य पुष्पा भुसालले संसदीय दलको नेताको चुनाव बुधबार बिहान ८ बजेदेखि गर्ने गरी तयारी भइरहेको बताउनुभयाे। कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो।
राष्ट्रपतिले यहि पुस १० गते भित्र सरकार गठनको आह्वान गरेको र संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँड गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथ ग्रहण गर्नु अगावै संसदीय दलको निर्वाचन गर्न लागेको हो ।
संसदीय दलको विधान बमोजिम कांग्रेसमा दलको नेता बन्न एक जना भन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ। कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा लगायतले दलको नेतामा चुनाव लड्ने बताउदै आएका छन्। संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित ८९ जना सांसद मतदाता हुन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
