लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बाबुराम भट्टराइको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित बाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा पराजित भएका प्रतिगामी शक्ति अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताउनुभएको हो ।

Advertisement

पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनैपनि हालतमा, कुनैपनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौं । यसको हामी रक्षा गर्छौं । यो चुनावको पहिलो मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हो ।’

उहाँले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताउनुभयो । उहाँले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

आगामी निर्वाचनमा गठबन्धनले राम्रो प्रदर्शन गर्न नसके विगतको अवस्था दोहोरिनसक्ने दाबी गर्दै अध्यक्ष भट्टराईले भन्नुभयो, ‘यो निर्वाचनलाई यो गठबन्धनलाई हामीले कुनैपनि हालतमा जिताउनै पर्छ । यो गठबन्धनलाई हामीले यसपटक जिताएर ५ वर्षको एउटा स्थिर सरकार दिने ग्यारेन्टी गर्नुपर्छ । यो गरेको खण्डमा काँग्रेस र वामपन्थी भित्र जुन असन्तुष्टि छन्, त्यसलाई पनि सम्बोधन गरेर जानसक्छौं।’

‘हामीले निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेनौं भने आफ्ना आफ्ना स्वार्थ टक्करका कारणले भने त्यसपछि पनि विगतको जुन कटु अनुभव भयो, दुई तिहाई नजिकको बहुमत भएर पनि ५ वर्ष सरकार चलाउन नसक्ने स्थिति देखाप-यो । हामीले पनि त्यही गति दोहार्‍याउने हो भने जनताले हामीलाई विश्वास गर्दैनन् ।’

उहाँले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गर्नुभयो ।

More News last news
Loading...