डेंगुका बिरामीलाई घाँटीमा घाउ हुने समस्या, सजग रहन चिकित्सकको आग्रह

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् ।डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनुभयो । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरू बढी देखिने बताउनुभयो । डा. गौतमले पछिल्ला दिनहरूमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताउनुभयो ।

Advertisement

उहाँले डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरू एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी शतर्क रहन पनि सुझाव दिनुभयो । डेंगु सरूवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गर्नुभयो ।

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू पाइरहेको र अस्पतालहरूमा डेंगुका बिरामीहरूको चाप बढेको बताउनुभयो ।

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताउनुभयो । उहाँले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताउनुभयो । भाइरल ज्वरोका बिरामीहरू पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै, धेरै घाँटी दुख्ने, सुरूमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिनुभयो ।

चिकित्सक डा. गौतमले फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।

More News last news
Loading...