काठमाडाैं । मुलुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ।
यो सँगै साउन यता साढे २ महिनामा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएकाे छ। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार याे वर्ष अहिलेसम्म २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ।
यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।
नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।
प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न चिकित्सकहरुले सुझाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
