उपेन्द्र यादवले गठबन्धनमा चुकुल लगाउन सक्दैनन्ः महेन्द्र राय यादव

काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आफ्नो पार्टी सत्ता गठबन्धनमै रहने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “वर्तमान सत्ता गठबन्धन निर्माणमा हाम्रो पनि योगदान छ । हामीलाई यही गठबन्धनले स्पेस दिनुपर्छ । वाम-प्रजातान्त्रिक गठबन्धनमा सबै अटाउने ठाउँ छ । यो गठबन्धनमा नेपाल समाजवादी पार्टी, लोसपा सबै अटाउन सक्छन् ।”

Advertisement

उपेन्द्र यादवले नमानेको खण्डमा तपाईंहरु कसरी सत्ता गठबन्धनमा बस्न सक्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा यादवले थपे, “यो उपेन्द्रजीको निजी गठबन्धन हो र ? उपेन्द्रजीले कसरी चुकुल लगाउन पाउँछन् ? उनको चाहनाले मात्र केही हुनेवाला छैन । गठबन्धन कसैका लागि आवश्यक होला, नहोला, तर मुलुकको आवश्यकता हो ।” गठबन्धनमा कुरा नमिलेर एमालेतिर लाग्नुपर्ने स्थिति नआउने पनि उनको जिकिर छ ।

उपेन्द्र यादवको स्वेच्छाचारिता र एकलौटी शैलीका कारण नयाँ पार्टी बनाउनु परेको पनि यादवले औंल्याए । उनले भने, “सबै नेता कार्यकर्तालाई थाहा छ, जनता समाजवादी पार्टीलाई हामीले वैकल्पिक राजनीतिक शक्ति बनाउन खोजेका थियौं । हिमाल, पहाड र तराईको प्रतिनिधित्व भएको पार्टी बनाउन खोजेका थियौं । तर उपेन्द्रजीको स्वेच्छाचारिता र एकलौटी शैलीका कारण महन्थ ठाकुरजीले छाडेर जानुभयो । हामीले उपेन्द्रजीको स्वेच्छाचारिता नियन्त्रण गर्न खोजे पनि सकेनौं । पार्टीभित्र उपेन्द्रजीबाहेक कसैले बोल्न नपाउने अवस्था आयो ।”

उपेन्द्र यादवले मधेसलाई भ्रमको अन्धकारमा राखेको आरोप पनि उनले लगाए । यादवले थपे, “प्रदेशको मन्त्री रामनरेश यादवलाई कुन कानुनले हटाइयो ? यत्रो आरोप लाग्दा पनि मधेस प्रदेशका मुख्यमन्त्रीलाई किन राजीनामा गराउँदैनन् ? आफ्नै पार्टीमा विभेद गर्ने ? मधेसलाई यसरी सधैंभरि अन्धकारमा राख्न सकिँदैन । भ्रमपूर्ण राजनीति अब चल्दैन ।”

More News last news
Loading...