काठमाडौं । सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मतदानको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोगले निर्वाचनमा मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र सहकारी सबैलाई बिदा दिन आग्रह गरेको थियो।
नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ०७४ को स्थानीय तह निर्वाचनभन्दा यसपटकको निर्वाचन र प्रतिमतदाता खर्च तुलनात्मक रूपमा सस्तो हुने अनुमान आयोगले गरेको छ। ‘आयोगले प्रति मतदाता खर्चको विवरण निकालिसकेको छैन,’ उनले भने, ‘सबै हिसाबमा ०७४ को स्थानीय तह निर्वाचनभन्दा अहिलेको निर्वाचन सस्तो हुनेछ ।’
उनले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएका मतदाताहरूले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी भइरहेको जानकारी गराए। मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय आयोगले गरेको छ।
त्यस्तै निर्वाचनमा प्रयोग नहुने एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्कर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवालगायत अत्यावशक सेवा र कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु नपर्ने आयोगले जनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
