एमसीसीविरुद्ध सर्वोच्चमा रिट दायर, बानेश्वरमा गृहमन्त्रीको ‘पुत्ला दहन’

काठमाडौं l आइतबार प्रतिनिधि सभामा टेबल भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै भण्डारीले रिट दिएका हुन् । तर रिट दर्ता भएको छैन । रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

Advertisement

एमसीसी टेबल भएको विरोधमा दलहरु विभाजित भएका छन् भने जनस्तरमा पनि यसको बिरोध भइरहेको छ । विरोधमा उत्रेकाविरुद्ध प्रहरीले बल प्रयोग गरेको थियो ।

बानेश्वरमा जलाइयो गृहमन्त्रीको पुत्ला

गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो । अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको बताए ।

उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने जानकारी दिए । उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।

More News last news
Loading...