काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन्। तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो।
हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ।
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन्।
नेपालमा हालसम्म कोभिड-१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्। मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड-१९ विरुद्धको खोप पनि लगाएका छन्।
हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
