बुटवल वडा नम्वर ७ को पुर्ननिर्मित भवनबाट सेवा प्रवाह सुरु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ७ को नयाँ ठाउँ र पुर्ननिर्मित गरिएको भवनबाट सेवा प्रवाह सुरु भएको छ । दीपनगरमा पुननिर्माण र मर्मत सम्भार गरि वडाको नयाँ कार्यालय स्थापना भएको हो ।

वडा नं. ७ को नयाँ कार्यालय भवनको शुक्रबार एक संक्षिप्त समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् । त्यसक्रममा उनले वडाबाट हुने सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

Advertisement

टोल स्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बनेका र छलफलबाटै नगरको सहरी विकास गुरुयोजना तय भएको उल्लेख गर्दै प्रमुख सुवेदीले आवधिक योजनाहरु पूरा हुने र दीर्घकालीन योजनाहरुले तीब्रता पाउने काम भइरहेको जानकारी दिए ।

वडा अध्यक्ष कमलप्रताप थापाले आफुहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरी, पूर्वउपमेयर रामप्रसाद खनाल, सिद्देश्वरी लालकुमारी माविका अध्यक्ष सागर न्यौपाने, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायणबहादुर घिमिरे तथा कार्यपालिका सदस्य सीता थापा आचार्यलगायतले बोल्दै वडाका सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

करीब ३२ लाख बराबरको लागतमा वडाको कार्यालय भवनको पुनर्निर्माण भएर सेवा सुचारु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिनुभयो । माथिल्लो ट्रससहित दुई तला र आठ वटा कोठा तथा पार्किङ सहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरि बनाइएको हो।

वडा नम्वर ८ को आधुनिक भवन निर्माण प्रक्रिया सुरु

बुटवल उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति भएको सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण अवस्थाका कर्मचारी आवासलाई हटाएर नयाँ आवास गृह निर्माण गरिएको छ । उक्त आवास गृहको आज एक समारोहबीच उपमहानगर प्रमुख शिवराज सुवेदीले सडक डिभिजन प्रमुख जयलाल मरासिनीलाई हस्तान्तरण गरेका छन् ।

करिब ४८ लाख बराबरको लागतमा प्रति परिवार चारवटा कोठासहितको छ वटा आवासगृह र एउटा योगा हल निर्माण गरि हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । शहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा न ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको छ ।

More News last news
Loading...