काठमाडौँ । सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ।
आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।
खोप केन्द्र नथपिँदा केन्द्र नै सङ्क्रमणस्थल जस्तो बन्न थालेकाले टोलटोलमा खोप पुर्याउनुपर्ने विज्ञहरुको भनाइ छ । खोप कार्ड अनिवार्य गर्नुअघि घरदैलो तथा टोलटोलमा खोप पुर्याउन आवश्यक रहेको जनस्वास्थ्यव्दि डाक्टर बाबुराम मरासिनीले बताए ।
कुल जनसङ्ख्याको आधाभन्दा धेरैले पूर्ण खोप नलगाउँदासम्म यो नियम अव्यावहारिक हुने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।
यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
