‘ओमिक्रोनलाई सामान्य रोग ठान्नु भ्रमपूर्ण, निगरानी र मूल्यांकन आवश्यक’

एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुखले काेराेनाको नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताउनुभएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताउनुभएकाे हाे ।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो । ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उहाँले भन्नुभयाे, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’

Advertisement

ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उहाँको भनाइ थियो । गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिनुभएकाे छ।

विश्व नेतालाई चेतावनी दिँदै उहाँले भन्नुभयाे, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँनयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’

त्यस्तै, गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताउनुभयाे । कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उनको भनाइ थियो ।

युरोपका केही मुलुकमा दैनिक कोभिड संक्रमण हालसम्मकै उच्च बिन्दुमा पुगेका बेला गेब्रेयससको पछिल्लो भनाइ आएको हो।  ओमिक्रोन सक्रिय भेरियन्टको रुपमा देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका छन् । जुन सोमबार थपिएका एक लाख २ हजार १४४ भन्दा झण्डै पाँच गुणाले बढी भएकाे बीबीसीले जनाएको छ ।

More News last news
Loading...