नेपालमा बढ्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ३९३ संक्रमित

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार २१६ जनामा र सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

Advertisement

पछिल्लो २४ घण्टामा नौ हजार ३३९ वटा नमुना परीक्षण गर्दा ३९३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सात हजार ७९४ जनामा गरिएको पीसीआर परीक्षणमा ३५५जनामा र एक हजार ५३५ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको छ । पछिल्लो २४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

भारतमा १७ सयमा जनामा देखियो ओमिक्रोन

भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन्। पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ। भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन्।

त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन्। भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ। तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ।

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ। उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन्।

More News last news
Loading...