सरकारले क-कसलाई दिने छ बुस्टर डोज ?

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ। कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रुपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो।

कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन्।

Advertisement

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको उनले बताएका छन्।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीले अतिरिक्त डोज पाउने छन्।

उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई पनि सरकारले अतिरिक्त खोप लगाउने निर्णय गरेको छ।

लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने छन्।

More News last news
Loading...