काठमाडौँ । मानिसहरूले निकै लामो समयदेखि हाँसो सबैभन्दा उत्तम औषधि हो भनिरहेका छन् । कहीँकतै मानिसहरूले जो खुसी र आनन्दित रहन्छ, उसले आफूलाई स्वाभाविक रूपमा ठीक राख्छ भन्ने कुरा बुभेका थिए।
तपाईं स्वस्थ हुनुहुन्छ वा अस्वस्थ भन्ने कुरा तपाईंको शरीर कति सही ढङ्गले काम गरिरहेको छ भन्ने कुरामा निर्भर गर्दछ । यदि शरीरले राम्रोसँग काम गरिरहेको छ भने, हामी त्यसलाई स्वास्थ्य भन्छौँ । अन्यथा, हामी त्यसलाई रोग भन्छौँ ।
जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंको भौतिक शरीर सबैभन्दा उत्तम तरिकाले काम गर्दछ । त्यसबेला, यो स्वतः ठीक अवस्थामा रहनेछ । वास्तवमा भन्नुपर्दा, हाँसोले तपाईंलाई ठीक गर्ने होइन । बरु खुसी एवं हर्षको भावले ठीक गर्ने हो । तर, अधिकांश मानिसहरूले आनन्दित हुनुलाई हाँस्नुसँग जोडेर हेर्ने गर्छन् ।
आनन्दको एउटा अभिव्यक्ति
हाँसो बन्धन समेत बन्न सक्छ । यदि तपाईंले आनन्दित हुनु भनेको सधैँ हिहि… हाहा… गर्नु हो भनेर ठान्नुभएको छ भने, तपाईं स्वयं हास्यास्पद पात्र बन्ने निश्चित छ । किनकि, तपाईं कुनै पनि परिस्थितिको गहिराइलाई नबुझिकनै जस्तोसुकै परिस्थितिमा पनि हिहि… हाहा गर्नुहुनेछ । खुसी हुनु वा आनन्दित हुनु भनेको हाँस्नैपर्छ भन्ने होइन ।
आनन्द, विभिन्न रूपहरूमा व्यक्त हुन सक्छ, यो एक निश्चित रूपमा मात्रै व्यक्त हुनुपर्छ भन्ने छैन । हाँसो एउटा अभिव्यक्ति हुन सक्छ, जबकि अर्को अभिव्यक्ति मौन हुन सक्छ । आनन्दले तपाईंमा स्थिरता ल्याउन सक्छ, तपाईंलाई कुनै काममा क्रियाशील बनाउन सक्छ, वा तपाईंका आँखाबाट आँशुका धारा बगाउन सक्छ ।
भलै, गौतम बुद्ध आनन्दको स्वरूप भए तापनि, अरू कसैले पनि कहिल्यै उनलाई हाँसेको अवस्थामा देखेनन् । उनले कहिल्यै जोडले हाँसेनन्, यहाँ सम्म कि स्पष्ट रूपमा समेत मुस्कुराएनन्स उनको मुस्कान पनि अप्रत्यक्ष र सामान्य हुने गर्थ्यो ।
आनन्द भनेको मुस्कान वा हाँसो होइन । आनन्दित हुनु भनेको तपाईं जीवनको अन्तस्करणको सम्पर्कमा हुनुहुन्छ भन्ने हो । तर, जब तपाईं यसलाई कुनै निश्चित अभिव्यक्तिको दास बनाउनुहुन्छ, तपाईं हरेक क्षण आनन्दित रहन सक्नुहुन्न ।
आनन्द के हो ?
मूलतः आनन्द भनेको आफ्नो जीवनलाई सतहमा बाँच्नुको सट्टा तपाईं जीवनलाई गहिराइमा अनुभव गरिरहनु भएको छ भन्ने हो । तपाईं जीवनको स्रोतसम्म पुग्नुभएको हुन्छ, त्यसैले तपाईं स्वयं आनन्द बन्नुहुन्छ । मानिसहरू सदैव यसलाई अर्को तरिकाले पाउने कोसिस गरिरहेका हुन्छन् । कोही मदिरा पिउनुमा आनन्द छ भन्ने विश्वास गर्छन्, जबकि कोही हाँस्नुमा आनन्द छ भन्ने ठान्छन् ।
हाँसिरहने मानिसहरूको जमातको बारेमा त तपाईंहरूलाई थाहै होला । उनीहरू गल्लीमा, बाटोमा, चोकमा जतासुकै हाहाहा… हूहूहू… हिहिहि गरिरहेका हुन्छन् ! शुरु–शुरुमा यो रमाइलो लाग्नेछ, तर यदि तपाईंले जतिबेला पनि हाहाहा…हिहिहि गरिरहने व्यक्तिसँग रहनुपर्ने हो भने, तपाईं त्यो हाँसो बन्द गर्नकै लागि भएपनि उसलाई मार्न चाहनुहुनेछ !
हाँसो परिणाम हो
अचेल ‘हास्य योग’ नाम दिएर एकदमै दयनीय प्रकारको योग प्रचार गरिँदै छ । दुवैजना व्यक्ति एक–अर्कासामु उभिन्छन् अनि एउटाले हिहिहि… भन्दछ, अर्कोले हाहाहा… भन्दछ र हाँसो शुरु हुन्छ । यो पागलपन हो । हालसालै, मैले कतै पढेको थिएँ कि जीवनमा केही अपनाउने सल्लाह दिने एक अमेरिकन शिक्षकले व्यक्तिले दिनमा दश मिनेटसम्म हाँस्नैपर्छ भनेर सल्लाह दिएका थिए- यदि त्यसो गर्नुभयो भने, तपाईं छिट्टै मानसिक रोगीहरूको विभागमा पुग्नुहुनेछ !
कृपया यो कुरा बुझ्नुहोस् ! यदि तपाईं बगैँचामा फूलहरू फुलाउन चाहनुहुन्छ भने, तपाईं बजारबाट प्लाष्टिकको फूल ल्याएर त्यहाँ रोप्नुहुन्न, होइन र ? तपाईंले केही यस्ता कामहरू गर्नुपर्ने हुन्छ, जुन फूलहरू जस्तो देखिँदैनन्- तपाईंले माटो, मलखाद, पानी साथै घामको किरणको उचित ख्याल राख्नुपर्ने हुन्छ । यी चीजहरू न त फूल जस्तो देखिन्छन्, न त्यस्तो प्रतीत हुन्छन्, न त फूलले सुगन्ध नै छर्दछन् । तर, यदि तपाईंले यी चीजहरूको पर्याप्त ख्याल राख्नुभयो भने, फूलहरू फुल्ने छन् ।
तसर्थ, तपाईंले ‘म हरेक दिन हाँस्नैपर्छ’ भन्ने प्रतिज्ञा गरेकै भरमा हाँसो आउने होइन । यदि तपाईं आफूभित्र प्रिय अनुभव गरिरहनु भएको छ भने, कुनै कारणबिनै, तपाईंको अनुहारमा मुस्कान छाउनेछ । थोरै केही हुने हो भने, तपाईं हाँस्नुहुनेछ । वास्तवमा, हाँसो परिणाम हो । त्यसैले, परिणाम सृजना गर्ने प्रयत्न नगर्नुहोस् । बरु, तपाईं प्रक्रिया वा स्रोतमाथि काम गर्नुहोस् ।
आनन्द, तपाईंले केही गरेर हुने होइन । यदि तपाईंले आफूभित्रको जीवनको आधारभूत प्रकियालाई बिथोल्नु भएन भने, स्वतः आनन्द अनुभव गर्नुहुनेछ । आनन्द कुनै उपलब्धि होइन- आनन्द तपाईंको मौलिक अवस्था हो । योगमा, हामी मनुष्यलाई पाँचवटा पत्रहरू वा आवरणहरूमा हेर्ने गर्छौँ- अन्नमय कोष, मनोमय कोष, प्राणमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष ।
त्यसैले, तपाईंको अन्तस्करणको प्रकृति भनेकै आनन्द हो । यदि शरीरको पहिलो तीनवटा आयामहरू- भौतिक, मानसिक र ऊर्जा शरीर- सही सङ्गति वा लयमा हुने हो भने, अन्तस्करणको प्रकृति स्वतः प्रकट हुनेछ, जुन वास्तवमा सम्पूर्ण रूपमा आनन्द हो ।
न्युज कारखानाको सहयोगमा सदगुरुको प्रवचनमा आधारित सामाग्री
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
