काठमाडौँ । मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ।
आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारका अनुसार आजको बैठकमा खासै ठोस सहमति भने भएन। गठबन्धनका दलहरूबीच सरकार सञ्चालनका विषयमा पनि छलफल भएको थियो।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई सहभागी थिए ।
बैठकमा एकीकृत समाजवादी दल दर्ताको विषयमा सर्वोच्च अदालतबाट फैसला आएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
