काँग्रेसको वडा अधिवेशन फेरि सर्ने, नेताहरूबीच छलफल जारी

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको वडा अधिवेशन फेरि सर्ने भएको छ।

भदौ १८ गतेका लागि तय भएको वडा अधिवेशन सार्ने गरी छलफल भएको काँग्रेसका नेताहरूले बताएका छन्। क्रियाशील सदस्यता विवादका कारण पटक–पटक प्रभावित हुँदै आएको काँग्रेसको महाअधिवेशन फेरि सार्ने गरी तयारी भएको हो।

Advertisement

वडा अधिवेशन सार्ने सम्बन्धमा नेताहरूबीच छलफल भए पनि औपचारिक निर्णय नभएको बताइएको छ । तर, अधिवेशन केही दिन सार्ने विषयमा शीर्ष नेताहरू सहमत भएको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार वडा अधिवेशन कम्तीमा ४ दिन पर सार्ने तयारी भइरहेको छ।

निर्वाचन समितिले सम्पूर्ण क्रियाशील सदस्यताको सूची प्रकाशित नगरेको कारण तोकिएको मितिमा सबै वडाको अधिवेशन गर्न सम्भव नरहेको बताइएको छ। काँग्रेसले भदौ ११ गते ४८ र भदौ १२ गते ५ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ।

अन्य २४ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन। निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक भएका ५३ जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ।

More News last news
Loading...