काठमाडौँ । नेकपा (एमाले) विभाजन गरेर नयाँ बन्न लागेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन्।
माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि बुधबार आयोगले सनाखत गराएको हो । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद् पार्वती विसुंखेले दावी गरिन् । उनका अनुसार ६० जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले संसदीय दल वा केन्द्रीय कमिटीमा कम्तिमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न पाइने व्यवस्था गरिएपछि माधव समूहलाई एमाले विभाजन गर्न सहज भएको हो ।
निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो।
तर ३० जनालेमात्र सनाखत गर्दा संसदीय दलमा २० प्रतिशत पुग्न सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ६० जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने भएको छ ।
खनालले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले दूतावासमार्फत निर्वाचन आयोगलाई आफ्नो सनाखत पठाएका हुन् ।
दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । दूतावासका प्रतिनिधिहरूले उनको सनाखत लिएर आयोग आएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
