काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ।
आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए।
त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए। केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको उनले बताए।
केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि दिएको श्रेष्ठले बताए । जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई दिइएको उनको भनाइ छ।
प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए। बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो। प्रदेश १ मा भने पछि तोकिने जनाइएको छ।
प्रदेश इन्चार्जको सूची
प्रदेश २ : गणेश साह
वागमती : हितमान शाक्य
गण्डकी : हितराज पाण्डे
लुम्बिनी : चक्रपाणी खनाल
कर्णाली : शक्तिबहादुर बस्नेत
सुदूरपश्चिम : खगराज भट्ट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
