जसपाले अध्यक्ष ठाकुरसहित १६ नेतालाई कार्यकारिणी समितिबाट हटायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ।

यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ। जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो।

Advertisement

यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ। आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। ‘जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति थियो, अब ३५ सदस्यीय भएको छ’ उनले भने।

ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताए । एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन।

More News last news
Loading...