काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
हिजो सोमबार, कूल ११ हजार ५८४ जनाको नमूना परीक्षण गर्दा दुई हजार ३७० जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
यसैगरी, जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ। मंगलबार (आज) काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ।
जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन्। जापानले दिने १६ लाख डोज खोप व्यवस्थापन टिमले कोभिशिल्डको पहिलो डोज लगाएकाहरुलाई दिने निर्णय गरिसकेकोे छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
