काठमाडौँ । कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो।
एसोसिएनका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईंका अनुसार १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, तीन हजार वटा पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल पठाउन लागिएको हो । यी सामग्री १० दिनभित्र काठमाडौं पुग्नेछ।
अध्यक्ष चौलागाईंले सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकताअनुसार सातै प्रदेशमा पठाइने बताए । ‘अक्सिजनको अभाव भएर एक मुठी स्वास फेर्न पनि मुस्किल परेको र स्वास्थ्य सामग्रीको अभावमा उचित स्वास्थ्य उपचार पाउन नसकेर अकालमा ज्यान गइरहेकोले कारुणीक दृश्यले हामी विदेशमा शान्तिसँग बस्न सकिरहेको छैन । मातृभूमिमा विपद परेको अवस्थामा कतारका व्यवसायीहरु एकजुट भएका छौं’, उनले भने ।
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजको संरक्षकत्वमा एसोसिएसनले रकम संकलन गरेको हो। एसोसिएसनका महासचिव रमेश भट्टले ६८ जना व्यवसायीले १ लाखदेखि ८ लाख रुपैयाँसम्म सहयोग गरेका छन्। व्यवसायीहरुले यसअघि पनि ओमानबाट ५६० वटा अक्सिजन पठाउँदा पनि सहयोग गरेका थिए।
हाल कतारमा करिब तीन लाख ५० हजार नेपालीहरु कार्यरत छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
