काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ। हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेका छन्।
यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन्। लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।
बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो। ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन्। नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ।
बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः बृद्धि भएको छ। काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन्।
बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए।
कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
